काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चिनियाँ सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई नेपालले स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गर्दा चीनको बीआरआई स्वीकार गर्न किन नहुने भनी प्रश्न गर्नुभयो ।
उहाँले एमसीसी र बीआरआईबीचको अन्तर के हो नेपाली जनतालाई प्रष्ट पार्नुपर्ने बताउनुभयो । ‘बीआरआईलाई स्वीकार गर्यो भने ऋणमा चुर्लुम्म डुब्छ भन्ने भान पार्न खोजिएको छ, अमेरिकनहरुले एमसीसीको भारी बोकाउँदा, नेपाली जनताले चारैतिर असहमति राख्दा, विरोध गर्दा, आन्दोलन गर्दा यहाँका शासकहरुको भाषा के थियो ?’, केसीले प्रश्न गर्नुभयो ।
चीनसँग सैद्धान्तिक राजनीतिक रुपमा आफूहरुको पनि असहमति रहेको भन्दै उहाँले बीआरआईको माध्यमबाट चीन नेपाल आउन खोजेकाले स्वीकार गर्नुपर्ने बताउनुभयो ।
‘एमसीसीको पक्षमा नेपाललाई दुर्घटनामा पार्ने र चीनविरोधी अखडा नेपाललाई अमेरिकाले गराउने जुन षड्यन्त्र छ, यसमा नेपाली जनता सतर्क हुनुपर्छ’, केसीले भन्नुभयो ।
उहाँले नेपाललाई २४ खर्बको ऋण लगाएको बीआरआईले हो भन्ने प्रश्न पनि गर्नुभयो ।