काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले वर्तमान सरकार फेरबदलको चलखेलमा आफूहरु नभएको बताउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सत्ताघटक एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच हिजो भएको भेटवार्तालाई लिएर राजीतिक वृतमा सरकार परिवर्तनको चलखेल भन्ने चर्चा भइरहेको छ ।
यहि प्रसंगमा नेता बर्तौलाले दुई शीर्ष नेताहरुबीच भेटवार्ता र छलफल हुनु सामान्य भएकाले यसलाई चर्चाको विषय बनाउन आवश्यक नभएको र भेटमा समसामयिक विषय, देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेलगायतका विषयमा मात्रै छलफल भएको दाबी गर्नुभयो ।
यस्तै बर्तौलाले अहिले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट आफूहरु बाहिरिने र नयाँ सरकार गठनको प्रक्रियामा नरहेको पनि स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले सरकार मात्रै सबथोक नभएकाले वर्तमान सरकारलाई स्थिर ढंगले अगाडि बढाउन प्रतिपक्षको भुमिका पनि आवश्यक हुने बताउनुभयो ।
यस्तै साथमा प्रतिपक्षलाई लिएर पनि देश बनाउने र स्थिरतातर्फ लैजानुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको पनि उहाँको भनाइ छ । सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर देश निर्माणमा जान्छ भन्ने शन्देश दिन पनि नेताहरुबीच भेटवार्ता र सहकार्य आवश्यक रहेको उहाँको तर्क छ । एमाले र कांग्रेस मिल्नै सक्दैँन भन्ने ठाउँबाट भने बहस हुनै नसक्ने नेता बर्तौलाको भनाइ छ ।