काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको पहल थालेको छ । एमालेले शुक्रबार आफ्नो नेतृत्वमा सरकार बनाउन पहल सुरु गरेको प्रदेश प्रमुख कार्यालयलाई जानकारी गराएको हो ।
एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जोखबहादुर महरा नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेबाट मन्त्री भएका सबैले राजीनामा दिएको पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको जानकारी दिनुभयो ।
सरकार गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल मुकामका उपसचिव धर्मा अर्यालले उक्त पत्र बुझ्दै प्रदेश प्रमुखको संवैधानिक निर्देशन अनुरूप आवश्यक कागजात तयार पारिने बताउनुभयो ।
प्रदेश प्रमुख शेरचन उपचारका लागि केही दिनदेखि काठमाडौंमा रहेका उनका स्वकीय सचिव वसन्त भट्टचनले जानकारी दिनुभयो ।
असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका ५ जना मन्त्रीलाई सामूहिक राजीनामा दिएका थिए ।
केन्द्रमा बनेको नयाँ गठबन्धन अनुसार लुम्बिनीमा एमाले–कांग्रेसको स्पष्ट बहुमत छ । एमाले सरकारबाट हटे पनि मुख्यमन्त्रीले राजीनामा दिएका छैनन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।