काठमाडौं । माओवादी केन्द्रका सचिव चक्रपाणी खनालले अल्पमतमा पर्नासाथ राजीनामा दिनु नपर्ने भएकाले प्रधानमन्त्रीले यहि २८ गते विश्वासको मत लिने तयारी गर्नुभएको बताउनुभएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार मध्यराति नयाँ गठबन्धन निर्माण गरेर अघि बढ्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भइसकेको छ ।
एमाले, जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरुले पनि राजीनामा दिइसकेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्नुभएको छ तर प्रधानमन्त्रीले भने यहि २८ गते संसदमा विश्वासको मत लिने तयारी गर्नुभएको छ । अल्पमतमा पर्नासाथ राजीनामा दिनुपर्छ भन्ने संविधानमै नभएकाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मत लिने तयारी गर्नुभएको नेता खनालले स्पष्ट पार्नुभयो ।
यता कांग्रेसले भने संविधानको धारा ७६ (२) अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने बताइसके को छ । प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक पर्ने भए पनि समर्थनमा ६३ जना मात्रै सांसद रहेका छन् । यसरी हेर्दा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित बनिसकेको छ ।
यस्तै माओदी कमजोर भएको स्विकार गर्दै नेता खनालले सत्ताबाट बाहिरिनु र रहनु दुबैमा अहिले चासो नरहेको बताउनुभएको छ ।