काठमाडौं । नेपाली कांग्रेसका नेता संजय गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने बताउनुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । तर प्रधानमन्त्रीको पक्षमा माओवादी, रास्वाप र नेपका एसका गरी ६३ सांसद मात्रै भएकाले उहाँले विश्वासको मत नपाउने पक्का भइसकेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टी कांग्रेस लगायतका ठुला दलले मत नदिने भएकाले विश्वासको मत पाउने कुनै पनि सम्भावना नभएको स्पष्ट देखिने नेता गौतमले दाबी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने पनि बताउनुभएको छ । एमाले र कांग्रेसबीच एकप्रकारको समझदारी भइसकेकाले आफूहरु अब सोहिअनुसार इमानदारपूर्व अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
माओवादीले ओलीलाई प्रधानमन्त्री बन्न नदिन अनेकौ बखेडा गर्न आवश्यक नै नरहेको उल्लेख गर्दै मुलुकलाई स्थिररुपमा अगाडि बढ्न दिनुपर्नेमा जोड दिनुभयो । जनतामा छाएको आशा चिर्ने र देशको विकाश नै अहिलेको मूख्य आवश्यकता रहेको नेता गौतमको भनाइ रहेको छ ।
प्रचण्डलाई साथ दिँदा सहि हुने र ओलीलाई साथ दिँदा गलत हुन्छ र भन्ने प्रश्न गर्दै उहाँले दुई ठुला दल मिलिसकेपछि अब माओवादीले कुनै पनि अवरोध सिर्जना गर्न नहुने सुझाव दिनुभयो ।