काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको मूलभुत समस्याहरु समाधान गर्न सक्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक भइनसकेकाले अहिलेको अवस्थामा वर्तमान सरकारबाट राम्रो कामको आशा र विश्वास मात्रै गर्न सकिने नेता रावलले स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका रावलले नेपालको राष्ट्रिय हित अनुकुल काम गर्न बाँकी नै रहेको र जनताका आकाक्षा पूरा नभएको अवस्थामा दुई ठुला दलको समिकरणमा अब विकाश र समाधान हुन्छन् की हुँदैनन् यो नै महत्वपूर्ण कुरा भएको बताउनुभएको छ ।
सरकार फेरिइरहने जनताको अवस्था र समस्याहरु उस्तै रहने पूरानै परिपाटी अब नयाँ सरकारले बदल्नुपर्ने बताउँदै नेता रावलले बोल्ने भन्दा पनि काम गरेर देखाउन सुझाव दिनुभएको छ । यस्तै उहाँले जनतामा छाएको निराशालाई चिर्नुपर्ने मूख्य दायित्व ओली सरकारको रहेको जिकीर गर्नुभयो ।
यस्तै उहाँले देशको अर्थतन्त्र, शान्ती संरचनामै गम्भिर असर पुग्नेगरी पलायन भएको युवाशक्तीलाई रोक्ने निति सरकारले ल्याएर शिक्षामा बाह्य हस्तक्षेप र बेथिती रोक्न सक्नुपर्नेमा जोड दिनुभएको छ ।
भ्रष्टाचार र अनियमितता, सहकारी पीडितको समस्या समाधान तर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउँदै उहाँले जनतालाई सरकार छ भन्ने अनुभुति हुने गरी काम गरेर देखाउनुपर्ने सुझाव पनि दिनुभएको छ ।