काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र काठमाडौंको नवोदित कलेजबीच एक महत्वपूर्ण सहमति भएको छ। प्रतिष्ठान र कलेजबीच बुधबार आर्थिक अवस्था कमजोर भएको कलाकारको परिवारले कलेजमा अध्ययन गर्दा ५० प्रतिशत छुट दिने विषयमा ७ बुँदे सहमति भएको हो।
प्रतिष्ठानका अध्यक्ष रिता थापा र कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीबीच भएको सहमतिअनुसार अब कक्षा ११ र १२ मा अध्ययन गर्न आउने कलाकार, वाद्यवादक र प्राविधिकका परिवारलाई कलेजले ५० प्रतिशत छुट र १० जनालाई निःशुल्क भर्नाको व्यवस्था गरिएको प्रतिष्ठानका प्रचार प्रसार विभागका संयोजक एवं कलाकार राजकुमार रायमाझीले जानकारी दिनुभयो। रायमाझीका अनुसार सहमति आजकै मितिबाट लागू हुनेछ।
सहमतिपछी प्रिन्सिपल अधिकारीले कलाकारितामा लागेको तर आर्थिक अवस्था कमजोर भइ छोराछोरीलाई अध्ययन गराउन नपाएका अभिभावकहरुलाई व्यवस्थापन, मानविकी, विज्ञान, कानून विषयमा अध्ययन गर्दा भर्ना र मासिक शुल्कमा प्रतिष्ठानको सिफारिसका आधारमा छुट दिने निर्णय भएको बताउनुभयो।
त्यस्तै प्रतिष्ठानकी अध्यक्ष थापाले कलाकार र परिवारका लागी सुनौलो अवसर प्रदान गरेकोमा आभार प्रकट गर्दै प्रतिष्ठानका जिल्ला, समिति, प्रदेश, समन्वय र केन्द्रका सदस्यहरुका परिवारलाई केन्द्रका पदाधिकारीहरुसँग समन्वय गरी उच्च शिक्षाका लागि नवोदित कलेजमा भर्ना हुन आग्रह गर्नुभयो।
प्रतिष्ठानको कार्यालयमा सम्पन्न बैठकमा नवोदित कलेजको तर्फबाट प्रिन्सिपल राजेन्द्र अधिकारी, नवोदित स्कुलका भाइस प्रिन्सिपल विकाशराज शर्मालगाएतको उपस्थिति रहेको थियो।