काठमाडौं । बंगलादेशमा जारी सरकारी जागिरको कोटाविरोधी प्रदर्शन दबाउन सेनाले कर्फ्यु जारी गरेको छ ।
कोटाविरोधी प्रदर्शनहरुमा बंगलादेशमा कम्तीमा १५० को मृत्यु भएको बताइएको छ । शनिबार सरसामान किन्न केही घण्टा खुकुलो बनाइएको कर्फ्युलाई अहिले पुनः कडाइ गरिएको छ ।
यस्तै बंगलादेशमा इन्टरनेट र इन्टरनेटबाट सञ्चालन हुने म्यासेजिङ सेवाहरु पनि बन्द गरिएको छ । शुक्रबार प्रदर्शनकारीहरुले एक जेल तोडेर ८५० कैदी निकालेर आगो लगाएका थिए ।
सरकारी टेलिभिजनको समाचारसँग असन्तुष्ट समूहले बिहीबार टेलिभिजनमा आगजनी पनि गरेका थिए । बंगलादेशमा लागू भएको ५६ प्रतिशत कोटा घटाएर १० प्रतिशतमा झार्नुपर्ने भन्दै अहिले आन्दोलन चर्किएको छ ।