Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

वैध मत मात्रै गणना गरिए सजिलै जित्ने ट्रम्पको दावी, संयमित हुन वाइडेनको आह्वान

वैध मत मात्रै गणना गरिए सजिलै जित्ने ट्रम्पको दावी, संयमित हुन वाइडेनको आह्वान

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 1.2K
    SHARES

  • वैध मत मात्रै गणना गरिए सजिलै जित्ने ट्रम्पको दावी, संयमित हुन वाइडेनको आह्वान

    एजेन्सी । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मत गणना भइरहेका बेला दुवै उम्मेदबारले विभिन्न प्रतिक्रिया दिएका छन् ।  प्रतिश्पर्धामा रहनु भएका बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गर्नुभएको छ भने अर्का प्रतिश्पर्धी तथा पूर्व उपराष्ट्रपति जो वाइडेनले संयमित हुन सवैलाई आह्वान गर्नुभएको छ ।

    राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपछि उहाँका समर्थक र विपक्षी दुवै पक्षले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।
    मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत पहिलो पटक राष्ट्रपतिट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाक मार्फत गरिएको मतदान एकतर्फी भएको दावी गर्नुभयो ।

    उहाँले भन्नुभयो, यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने म सजिलै जित्छु । यहाँ धेरै अवैध मतदान भएका छन् ।  मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको सङ्ज्ञा दिनु भएको छ ।

    यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै विजयी भएको बाइडनले घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताउनु भएको थियो । मतदान र मतगणनामा धाँधली भएको भन्दै उहाँले तत्काल मतगणना रोक्न माग गर्दै अदालतमा उजुरी पनि दिनुभएको छ ।

    अन्तिम नतिजा आउनै लाग्दा उहाँले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उहाँको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् ।  तर अर्का प्रतिश्पर्धी वाइडेनले भने विरोध प्रदर्शनमा उत्रिएका तथा त्रसित र उत्तेजित भएकाहरुलाई संयमता अप्नाउन आह्वान गर्नुभएको छ ।

    “लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ”, उहाँले भन्नुभयो, तर “प्रक्रियाले काम गरिरहेको छ।” प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,“अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। त्यसलाई मानिसहरुले कसरी व्यक्त गरेका छन भन्ने हेरौँ।”

    मतगणना सकेपछि आफू र आफ्नो समूहकी उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस विजयी हुने कुरामा “कुनै शङ्का नरहेको” पनि बाइडनले बताउनु भएको छ । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ। बाँकी ६ ठाउँको अहिले गणना भइरहेको छ । त्यस बाहेक अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । त्यसको गणनाका लागि समय लाग्ने भएकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।


    पूर्व उपराष्ट्रपति वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगातार पछाडि पारिरहनु भएको छ । बाँकी ठाउँको मतगणना जारी नै रहेको र हुलाकबाट पठाइएको पत्र पत्र आउने क्रममै रहेकाले अन्तिम नतिजा आउन भने अझै केही समय लाग्ने देखिएको छ । अमेरिकामा झण्डै सात करोड अमेरिकी नागरिकहरुले हुलाकबाट मतदान गरेका छन् ।

    हुलाकबाट आएको मत गणनापछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने छ । तर हुलाकबाट आएको मतले भने नतिजालाई उल्ट्याउने संभावना कम हुने गरेको छ । नेपाली समय अनुसार मंगलबार राती अबेरसम्म भएको मतदान सकिएपछि बुधबार हिजो विहानदेखि मत गणना शुरु भइ परिणाम सार्वजनिक हुन थालेको हो ।

    अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

    अहिले प्रतिश्पर्धामा उत्रिनु भएका वाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख मुद्धा बनाउनु भएको थियो भने ट्रम्प आफु माथी लागेको आरोपहरुको प्रतिरक्षा गर्दै आक्रामक रूपमा प्रस्तुत हुनु भएको थियो ।

    चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनलाई नै अगाडि देखाइएको थियो भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको थियो ।

    अमेरिकामा रिपब्लिकनहरूहरुलाई परम्परावादी र डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ ।
    अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।

     

     

     


    शुक्रवार, कार्तिक २१ २०७७०८:०८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij