काठमाडौं । नागरिक समाजका अगुवा डा.सुन्दरमणी दिक्षितले बहुमतको वर्तमान सरकारले राम्रो काम गर्नसक्नुपर्ने बताउनुभएको छ । तर के–कस्ता कामहरु गर्छ भन्ने एकप्रकारको डर र अविश्वास रहेको भने उहाँको भनाइ छ । यस्तै उहाँले सरकारको विकाशका काम गर्नेमा पनि आशंका व्यक्त गर्नुभएको छ ।
शक्तीशाली र झण्डै दुई तिहाइको सरकारबाट जनताको आसा र विश्वास धेरै भएकाले निराश नबनाई काम गरेर देखाउनुपर्नेमा जोड दिँदै डा. दिक्षितले ढुक्क हुन सक्ने अवस्था नभएको तर्क गर्नुभयो । देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने सोचाई विगत र वर्तमान कुनै सरकारमा रहेका मन्त्रीहरुको नभएको पनि उहाँको भनाइ छ ।
जनता सधै निराश र पलायन हुनुपर्ने अवस्थाको अन्त्य गर्नतर्फ अहिलेको सरकारले सोचेर काम गरोस भन्ने आफ्नो कामना भएको डा. दिक्षितको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको बानीव्यहोरा, कांग्रेस सभापति शेरबहादुर देउवाको निकम्मापन र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निरिहपनले देशलाई सहि मार्गमा लैजानेमा आशंक व्यक्त गर्नुभयो ।
यस्तै उहाँले दुई तिहाईको मत छ भनेर सरकारले दम्भ देखाएर पेलेरै जान खोजिरहेको आरोप समेत लगाउनुभएको छ । गफ दिएर व्यवहारमा लागु नगर्ने नेताहरुको पूरानै प्रवृती अहिले पनि उस्तै भएको बताउँदै पदमा पुगेपछि जनतालाई बिर्सिने गरेको आरोप लगाउनुभयो ।