काठमाडौं । निबन्धकार एवं गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक भएको छ ।
ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्रा.डा.दयाराम श्रेष्ठ, बरिष्ठ कवि डा. विष्णुविभु घिमिरे,बरिष्ठ नाटककार अशेष मल्ल, बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभयो।
प्रमुख अतिथि महर्जनले धोबीघाट आफ्नो जन्मथलो नजिक भएको बताउँदै त्यहाँको ढुँगे धाराको पानी पिएर आफु हुर्केको स्मरण गर्नुभयो। उहाँले निबन्ध पढ्दा मज्जा आएको भन्दै निबन्धमा आफुलाई छोएका प्रसंगहरुको चर्चा गर्नुभयो ।
अर्का वक्ता बरिष्ठ नाटककार अशेष मल्लले भावलाई शब्दमा अभिव्यक्त गर्न सिपालु निबन्धकार शर्माको पुस्तक पढेपछि चित्र हेरेजस्तो,संगीत सुने जस्तो, महाकाव्य पढेजस्तो अनुभूति गराएको बताउनुभयो ।
यसैगरी गीतकार एवं कवि एसपी कोइरालाले शर्मालाई गीत लेख्न नछोड्न आग्रह गर्नुभयो । उहाँले निबन्धहरु इमान्दारी ,बौद्धिकताको कसीमा घोटिएका भएको बताउनुभयो ।
बरिष्ठ कवि डा. विष्णुविभु घिमिरेले शर्माको लेखनीका पक्षहरुको बारेमा चर्चा गरे भने बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठले शर्माका निबन्धहरुमा मौलिकता हावी भएको बताउँदै नभनिकन धेरै भनिएको र आफ्नो जस्तो गरेर लोककै कुरा बोल्ने निबन्ध आएको बताउनुभयो ।
निबन्धकार मुकुन्दराज शर्माले आफ्नो निबन्धका रचना गर्भ सुनाउँदै निबन्धको केही हरफ बाचन गर्नुभयो । कृतिबारे समीक्षात्मक टिप्पणी निबन्धकार कुमारी लामा र प्रा.डा. दयाराम श्रेष्ठले गर्नुभएको थियो ।
निबन्धकारका दाजु एवं बरिष्ठ कलाकार हरिहर शर्माले स्वागत मन्तब्य व्यक्त गर्नुभयो । पूर्वमन्त्री उमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गायक पुष्प नेपालीले शर्माद्धारा रचित गीत गाउनुभएको थियो भने कार्यक्रमको सञ्चालन वरिष्ठ सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासेले गर्नुभएको थियो ।
यस कृतिलाई कामना न्यूज पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो ।