काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शन गर्यो ।
कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन राख्दै ८ रन दिएर ५ विकेट लिइन् । नेपालकी रचना कुमारी र सीमाना केसीले दुई÷दुई विकेट लिए । कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक अरू कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
यसअघि दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो । नेपालकी कप्तान पूजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे । उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे । सावित्री धामी ११ र सान प्रविनले ६ रन जोडे । कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक/एक विकेट लिए ।
प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालले यसअघि यूएईसँग मात्रै पराजित भएको छ । अब यूएईसँग बुधबार अन्तिम खेल खेल्ने छ ।
चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।