काठमाडौं । निर्वाचन आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।
सोमबार(आज) बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरू मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत्, सञ्चार आवतजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि भनेको छ ।
मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको अर्यालले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
उपनिर्वाचनको काममा स्थानीय तहका कर्मचारी पनि खटाउन सकिने भन्दै आयोगले कर्मचारीको विवरण अद्यावधिक गरी राख्न र मागेको बेला उपलब्ध गराउन भनेको छ ।
उपनिर्वाचनका बेला निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्बाध रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न, मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरू मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न आयोगले आग्रह गरेको छ ।