काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले बिआरआईबारे कांग्रेस र एमालेबीच एउटै धारणा बन्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सहमतिमा साझा धारणा बनाएरै चीन भ्रमणमा जाने भएकाले दुई दलबीच कुनै पनि फरकमत नरहने नेता घिमिरेले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओली यहि मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले बीआरआई साझा धारणामा अगाडि बढ्ने भएकाले यसकै कारण गठबन्धन नभत्किने दाबी गर्नुभयो । गठबन्धनमा मतभेद, दरारलगायत बाहिर सार्वजनिक भइरहेका कुरामा कुनै पनि सत्यता नभएको समेत उहाँको भनाइ छ ।
यस्तै नेता घिमिरेले वर्तमान सरकारले काम गरिरहेको दाबी गर्नुभएको छ ।
चार महिनाको अवधिमा जति गर्नुपर्ने हो त्यहि अनुसार सरकारले काम गरिरहेको दाबी गर्दै उहाँले केहि गरेन, केहि भएन, जनता निरास भए भन्नु नै गलत भएको तर्क गर्नुभयो ।
आफू सरकारमा हुँदा केहि नगर्ने प्रतिपक्षले बाहिर हुँदा विभिन्नखाले कमजोरी निकालिरहेको उहाँको आरोप रहेको छ ।
कांग्रेस र एमालेको समिकरणमा सरकार गठनका बेला गरिएका प्रतिवद्धता अनुसार नै अगाडि बढेको समेत उहाँको दाबी रहेको छ ।