काठमाडौं। नेपालमा पहिलो पटक आज देखि ऐतिहासीक नेपाल प्रिमियर लिग(एनपिएल)सुरु भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको उद्घाटन खेल हेर्न आज दर्शकको उपस्थिति भरिभराउ थियो।
विश्व चर्चित खेलाडीहरु सहभागी भएपछि एनपीएलको रौनक थपिएको छ। एनपिएलले खेलाडी र दर्शक दुवै उत्साहित देखिएका छन्। त्रिवि मैदान कीर्तिपुरमा आजदेखि सुरु भएको लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले हराउदै विजयी सुरुवात गरेको छ।
खासगरि युवा खेलाडीहरुको आकर्षक पारी र क्रिकेटप्रेमीहरुले मैदानमा देखाउने सक्रियता र उत्साहले नेपाली क्रिकेटबारे पछिल्लोसमय विश्वभर नै चर्चा परिचर्चा हुने गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको एनपिएल खेल्नका लागि विश्वका चर्चित खेलाडीहरु नेपाल आएका छन्।
त्यसले पनि नेपाली क्रिकेटको थप अन्तराष्ट्रिय चर्चा चुलिएको छ।नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संसारभरका दर्जनौं खेलाडी एनपिएलमा आएकाले टिमहरु उत्कृष्ट बनेको बताउनुहुन्छ।
उहाँले अन्य देशबाट आएका खेलाडी अनुभवी भएकाले हाम्रो देशका खेलाडीलाई सिक्ने राम्रो अवसर भएको बताउनुभयो। नेपाल क्रिकेट संघ क्यान पनि यस्ता खेलका माध्यमबाट सवल हुने दाबी चन्दको छ ।
एनपिएलका सम्पूर्ण खेलहरु खेल जगतको प्रतिष्ठित टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्न सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सिमित सिट भएकाले दर्शकहरु सवैले चाहेर पनि मैदानमा आएर खेल हेर्न नसक्ने अध्यक्ष चन्द स्वीकार गर्नुहुन्छ । राम्रो स्टेडियमको खाँचो सदैव खड्किएको उहाँको भनाई छ।
स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो। खेलका माध्यमबाट अर्थव्यवस्थामा टेवा पुग्ने क्यानको दाबी छ। खेललाई अव खेल मात्र होईन यसलाई उद्यमका रुपमा विकास गर्नुपर्छ भन्ने सन्देश एनपिएलबाट जाने टिप्पणी अध्यक्ष चन्दको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान एवम् लुम्बिनी लायन्सका मार्की प्लेयर रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटलाई सपोर्ट गर्ने बताउनुहुन्छ। आइपीएलले भारतको क्रिकेटलाई सपोर्ट गरेजस्तै एनपीएलले नेपाली क्रिकेटलाई सपोर्ट गर्ने विश्वास कप्तान रोहितको छ।
आजको उद्घाटन खेलमा मैदान वा घरमै बसेर खेल हेरिरहेका दर्शक निकै उत्साहित थिए।न्यूजिल्याण्डका मार्टिन गप्टिलजस्ता स्टार खेलाडीले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलेका छन्। एनपिएलमा कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ।
यसपटक आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ।विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह छ । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो।
पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
उपाधि विजेताले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।सबै टिमले विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडीलाई मैदानमा उतारेका कारण खेलको रौनक बेग्लै छ।