काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा जनकपुर बोल्टसले लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताको तेस्रो खेलमा जनकपुरले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
१४२ रनको सामान्य चुनौती जनकपुरले १५.१ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो। प्लेयर अफ द म्याच कप्तान अनिल साहले ४२ बलमा अविजित रहँदै ६२ रन जोडे । त्यस्तै पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले २९ बलमा ३६ रन जोडे ।
लहिरु मिनान्थाले १३ बलमा २४ तथा जेम्स नीशमले ८ बलमा अविजित रहँदै १६ रन बनाए। यसअघि कीतिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १४१ रन बनायो ।
गुल्सन झाले २७ बलमा ३६, अर्जुन घर्तीले २२ बलमा ३३ तथा कप्तान सोमपाल कामीले १३ बलमा अविजित रहँदै २९ रन बनाए । त्यसबाहेक शिखर धवनले १४ बलमा १४, हङकङका बाबर हायतले २५ बलमा १२ तथा वेष्ट इन्डिजका चाडविक वाल्टनले १२ बलमा ८ रनमात्र बनाए ।
जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए। यो कर्णालीको पहिलो खेल हो भने जनकपुरले दोस्रो खेल खेलेको हो। जनकपुरले पहिलो खेल जितेको थियो।
यसअघी आजै भएको प्रतियोगिताको दोस्रो तथा आजको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।