काठमाडौं । नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले सहकारी ठगीमा तथ्य र प्रमाणका आधारमा दोषि देखिएका जो सुकै भए पनि कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने प्रमाण र तथ्यका आधारमा संलग्न देखिएकाले उहाँमाथि छानविन र कारवाही भइरहेको स्पष्ट पार्दै नेता कँडेलले यसलाई राजनीति पूर्वाग्रही भन्न नमिल्ने तर्क गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले जनताको ठगिएको रकम जसरी पनि फिर्ता गराउनेपक्षमा सरकार लागिपरेकाले यदि सकार पक्षकै नेता तथा मन्त्री दोषि देखिन्छन् भने पनि उनिहरुलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।
यस्तै जनताको अन्तिम विश्वास भरोसा भनेकै वर्तमान सरकार भएकाले त्यो विश्वासलाई जितेर काम गर्ने र सहकारी पीडितलाई न्याय दिने आफूहरुको मूख्य प्राथमिकता भएको उहाँको भनाइ छ ।
देश र जनताको लागि बनेको वर्तमान सरकारले आफ्नो र अर्को भनेर छुट्टयाउने गर्दै नगर्ने नेता कँडेलको भनाइ छ ।
यस्तै उहाँले पटकपटक विवादमा आइरहेका व्यक्तिको पक्षमा लागेर रास्वपाका नेता कार्यकर्ताले सरकारमाथि विभिन्न आरोप लगाउनु दुर्भाग्यपूर्ण भएको समेत बताउनुभएको छ ।
जनताको मत जितेर आएका लामिछानेले तीनै जनताको विश्वासमा खेलेको प्रमाणित भइसक्दा पनि अझैं उनकै पक्षमा उत्रिनु भनेको देशको लागि घातक हुने नेता कँडेलको भनाइ छ ।