काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले रवि लामिछानेविरुद्ध केहि प्रमाण भएरै ६५ लाख धरौटी बुझाउनुपर्ने अवस्था आएको बताउनुभएकोछ ।
संसदीय समितीले सहकारी ठगीप्रकरणमा लामिछाने पनि जोडिएको पुष्टि गरेपछि कारवाहीको लागि सिफासिरपछि प्रहरी प्रशासनले थप छानविन गर्दा प्रमाणहरु भेटिएकै आधारमा अदालतमा यो विषय प्रवेश गरेको बताउँदै उहाँले अदालतले थुनामै राखेर थप जाँचबुझ पछि धरौटीमा छाड्ने निर्णय गर्नु भनेको केहि न केहि समस्या देखिएरै धरौटी मागिएको कुरा स्पष्ट हुने उहाँको तर्क छ ।
यस्तै अरु अदालतमा पनि मुद्दा भएकाले त्यहाँबाट निर्णय आउन बाँकी नै भएकाले अहिले नै यो विषयमा विजय पराजय भने बोलिहाल्नुपर्ने अवस्था नरहेको नेता महतको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा हुनुभएको छ ।
अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने गएराती हिरासत मुक्त हुनुभएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका प्रवक्ता महतले प्रमाणको जज गर्ने अदालतनै अन्तिम ठाउँ भएकाले कानुनी प्रक्रियालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
लामिछानेलाई फसाउने, प्रतिशोध साध्नुपर्ने कुनै पनि कारण नभएकाले यसमा सरकारले फसाएको हो भनेर जति पनि हल्ला र विरोध गरिए ती सबै गलत सावित भइसकेको पनि उहाँले स्पष्ट पार्नुभयो ।