काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार धेरै दिन नटिक्ने ठोकुवा गर्नुभएको छ । यो सरकारले आफैंले आफ्नो आयु छोट्याइरहेकोले धेरै नटिक्ने दाबी गर्नुभयो ।
सिन्धुपाल्चोकको सुकुटेमा आज पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको,सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको जिकिर गर्नुभयो ।
‘मैले मिति तोक्न सक्ने र मिल्ने कुरा पनि होइन,सबै घटनाक्रम तपाईंहरुले जे देखिराख्नु भाछ कांग्रेसभित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि छ, त्यो असन्तुष्टि बाहिर आइ नै सकेको छ। त्यो स्थितिमा यो सरकार सहज ढंगले जाने अवस्था छैन।’
पछिल्लो घटनाक्रमलाई गम्भीर रुपले हेरिरहेको भन्दै प्रचण्डले सरकार गिराउने र सत्तामा जाने खेलमा भने नलागेको जिकिर गर्नुभयो। उहाँले अहिले आफूले ‘रिल्याक्स’ गरिरहेको बताउनुभयो।