काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र राइले विपक्षी दलले बाहिर गरेका हल्ला र चेतावनीलाई लिएर आत्तिनु पर्ने केहि कारण नभएको बताउनुभएको छ ।
सरकारविरुद्ध लागेको विपक्षी दलले चेतावनी दिन र भ्रम फैलाउनबाहेक अरु गर्न केहि नसक्ने पनि नेता राइको भनाइ छ ।
सरकारले संसद छलेर अध्यादेश ल्याएको विरोधमा संसदका विपक्षी दलहरु एक जुट भएका छन् । विपक्षी दलले सरकारविरुद्ध आन्दोललन गर्ने चेतावनी दिइरहेको बेला पूर्वमन्त्रीसमेत रहनुभएका नेता राइले यो कुराले आफूहरु अलिकति पनि विचलित नभएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राइले संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार शक्तीशाली भएको र यो सरकारले राम्रो काम गरिरहेको देखेर विपक्षीहरु अतालिएको आरोप लगाउनुभयो ।
हिजोको तुलनामा विकाशका कामहरु राम्रो भइरहेको दाबी गर्दै नेता राइले वर्तमान सरकारदेखि जनता सन्तुष्ट भएको र सरकारले आगामी दिनमा अझैं राम्रा काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै वर्तमान गठबन्धन सरकार आगामी २०८४ सम्मै चल्नेमा कुनै पनि शंका नरहेकोसमेत दाबी गर्नुभयो ।