काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डाक्टर डिला संग्रौलाले वर्तमान सरकारले जनताले महसुस गर्नेगरि काम गर्न नसकेको बताउनुभएको छ ।
जनतासँग प्रत्यक्ष अवलोकनमा जाँदा पनि महसुस हुने गरेर सरकारले काम गरेको नदेखिएको र गुनासो समेत यस्तै किसीमका आइरहेको नेतृ संग्रौलाले स्पष्ट पार्नुभयो ।
संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार शक्तीशाली भएको र यो सरकारले धेरै काम गर्न सक्ने भएकाले जनतालाई निराश नबनाएर जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने नेतृ संग्रौलाको सुझाव रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलाले वर्तमान सरकारले काम गरिरहेको भए पनि जति गर्नुपर्ने हो त्यति भने नभएको स्विकार गर्दै अझैं तीव्र गतीमा कामको रफ्तारलाई बढाउनुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो ।
सरकार जनताप्रति जवाफदेखि र उत्तरदायी हुनपर्ने समेत उहाँको भनाइ रहेको छ । यस्तै, नेतृ संग्रौलाले संसद छलेर अध्यादेश ल्याउनु सरकारको कदम गलत भएको टिप्पणी गर्नुभएको छ ।
संसद हुँदाहुँदै छल्न नहुने तर्क गर्दै उहाँले सत्तापक्षमै भए पनि सहि र गलतको बारेमा सबैले खुलेरै बोल्न सक्नुपर्नेमा जोड दिनुभयो ।
अर्को प्रसंगमा उहाँले कांग्रेसको सय दिने अभियान सफल भएको दाबी गर्नुभएको छ ।
यहि माघ १६ गते सकिने विशेष आन्तरिक अभियानमा कांग्रेसको संगठनभित्र हरेक संरचनाका सदस्यलाई क्रियाशील बनाउने, सक्रिय बनाउन सुरु गरिएको अभियानले सफलता पाएको उहाँको भनाइ छ ।