काठमाडौं । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । आज पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा ५ पटकको विजेता थ्री स्टार क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो ।
दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लब उज्बेकिस्तानको ब्ल्याक बुल्ससँग ४–० गोल अन्तरले पराजित भयो । ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्ने छ । पुलिसले पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
खेलको २४औं मिनेटमा ब्ल्याक बुल्सका शाभकात्जोन सात्तोरोभले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा असिलबेक ओरिफजोनोभले, ६३ औं मिनेटमा सात्तोरोभले र ८७औं मिनेटमा सइदजमोल दाभ्लातिनोभले गोल गर्दै ब्ल्याक बुल्सलाई जित दिलाए ।