काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नबाट भाग्न खोजेको आरोप लगाउनुभएको छ ।
हिजोको संसद बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सांसद साहले प्रश्न राख्नुभएको थियो उक्त प्रश्नमा जवाफ नदिएर उल्टै प्रतिप्रश्नमा उत्रिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद साहले जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री ओलीले संसद्को अपमान गरेको टिप्पणी पति गर्नुभएको छ ।
आफूले चार दिन अघि नै दर्ता गरेको प्रश्नको उत्तर नदिएर प्रधानमन्त्री भागेको भन्दै प्रधानमन्त्रीले संसद्को अपमान गरेको र प्रश्नोत्तर भन्ने कार्यक्रमको धज्जी उठाएको सांसद साहको आरोप रहेको छ ।
प्रधानमन्त्रीले आफ्नो प्रश्नमाथि गरेको टिप्पणीको नियमापत्ति गर्न खोज्दा सभामुखले बोल्नबाट रोकेको पनि उहाँको भनाइ छ ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य सकिएको तर्क गर्दै सांसद साहले प्रधानमन्त्रीमा देश चलाउँछु भन्ने मानसिकता नरहेको आरोप लगाउनुभएको छ ।