Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चिनियाँ राजदूतसँग वरिष्ठ नेताहरुको पालैपालो भेटबारे नेकपाका नेताहरु के भन्छन?

चिनियाँ राजदूतसँग वरिष्ठ नेताहरुको पालैपालो भेटबारे नेकपाका नेताहरु के भन्छन?

  • मंगलवार, आषाढ २३ २०७७

  • 1.1K
    SHARES

  • चिनियाँ राजदूतसँग वरिष्ठ नेताहरुको पालैपालो भेटबारे नेकपाका नेताहरु के भन्छन?

    काठमाडौँ – नेपालको आन्तरिक राजनीतिमा चिनियाँ राजदूत होउ यान्छीले बढाएको सक्रियता र त्यसमा शीर्ष नेताहरुले खेलिवरहेको भूमिकाबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेताहरुले आपत्ति जनाएका छन् । पार्टी विभाजन हुन नहुने भन्दै नेतृत्वलाई दबाब दिइरहेका नेकपाका नेताहरुले वैदेशिक हस्तक्षेप स्वीकारेको सन्देश दिइने ढंगका गतिविधि नगर्न शीर्ष नेताहरुलाई चेतावनी समेत दिएका छन् ।

    नेकपाकी नेतृ रामकुमारी झाक्रीले मुलुक र पार्टीको आन्तरिक राजनीतिमा कुनै देशका राजदूतको हस्तक्षेप स्वीकार्न सकिने विषय नरहेको बताउनुभयो । नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै झाक्रीले विदेशी राजदूतको हस्तक्षेप स्वीकार गर्ने विगतको परम्परा अहिले नेकपाका नेताहरुले पनि शिरोपरी गरेका हुन् भने त्यो गलत रहेको बताउनुभयो ।

    भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेपालकै नेताहरुले सक्रिय भूमिका निर्वाह गरिरहेको अभिव्यक्ति दिएपछि नेकपाका नेताहरुले प्रधानमन्त्री ओलीले राजीनामा माग गरिरहेका छन् । ओलीले अरु छुट्टै पार्टी घोषणा गर्ने तर राजीनामा नदिने अडान लिएपछि विवाद पार्टी विभाजनको संघारसम्म पुगेका बेला उत्तरको छिमेकी चीनले नेकपाको आन्तरिक राजनीतिमा देखिने गरी हस्तक्षेप गर्न थालेको हो ।

    विवाद पार्टी विभाजनकोे तहमा पुगेका बेला चिनियाँ राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका विदेश विभाग प्रमुख मावध कुमार नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ । नेपालको आन्तरिक मामिलामा कुनै उदेश्य बोकेर चिनियाँ राजदूतको दौडधुप भइरहेको हो भने त्यो राम्रो विषय नरहेको नेकपाका नेता ठाकुर गैरेले बताउनुभयो । पार्टी विभाजन गर्न नपाईने भन्दै खबरदारी अभियानको अगुवाई गरिरहनुभएका गैरेले चिनियाँ राजदूतले नेकपाका नेताहरुसँग कुन उदेश्यले भेट गर्नुभयो त्यो प्रष्ट भइनसकेको प्रतिक्रिया दिनुभयो ।

    भारतले आफूलाई हटाउन खोजेको प्रधानमन्त्रीले दाबी गरेको एक सातापछि चिनियाँ राजदूत यान्छीले नेकपाका नेताहरुसँग भेट तीव्र पार्नुभएको हो । यसअघि पनि पार्टीमा विवाद चुलिएर प्रधानमन्त्रीको राजीनामा माग गरिएका बेला चिनियाँ राजदूत यान्छीकै सक्रियतामा त्यसलाई मत्थर पारिएको घटना ताजै छ । त्यसपछि अहिले नेकपाको संकट मोचनका लागि चीनले सक्रिय हस्तक्षेप देखिने गरी भइरहेको छ । तर नेकपाका नेता बेदुराम भुषाल विदेशीको इशारा भन्दा पनि आफ्नो आन्तरिक विषय प्रमुख हुने बताउनुहुन्छ । भारतले के ग¥यो भनेर गरिने हल्ला र अहिले चीन के गरिरहेको छ भनेर भइरहेको हल्ला दुवै गलत रहेको उहाँले बताउनुभयो ।

    यता प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्तरिक किचलो हटाउन छाडेर छिमेकी राष्ट्र चीन र भारतलाई आरोप लगाउँदै आफ्नो पार्टी र समग्र रुपमा नेपाल र नेपालीको अपमान गर्ने कार्य बन्द गर्न सत्तारुढ नेकपालाई आग्रह गरेको छ । कांग्रेस नेता मिनेन्द्र रिजालले नेकपाभित्र कुनै देशको राजदूतले धुलो उडाउँदै हिँड्न सकिरहेको विषय साँचो हो भने त्यो घातक हुने बताउनुभयो । अन्यथा आफ्नो घरझगडाको दोष छिमेकीलाई लगाएर जनतालाई अपमानित गर्ने कार्य बन्द गर्न रिजालले आग्रह गर्नुभयो ।

    राष्ट्रपतिसहित वरिष्ठ नेताहरुलाई चिनियाँ राजदूतले घरघरमै गएर भेटेको विषयलाई कतिपय नेकपाका नेताहरुले शिष्टाचार भेटवार्ता भनेका छन् । तर राजनीतिक विश्लेषक लोकराज बराल यसलाई शिष्टाचार भेट मात्रै भन्न नसकिने बताउनुहुन्छ । रातारात भइरहेको दोडधुपलाई सामान्य रुपमा मात्रै बुझ्न नसकिने उहाँको भनाई छ । नेपालको आन्तरिक मामिलामा पहिले भारतले खेल्ने भूमिका अहिले चीनले खेलिरहेको उहाँको विश्लेषण छ ।

    यसैबीच नेकपाको विवाद समाधानका लागि आज बसेको पार्टीका दुई अध्यक्षबीचको बैठकले पनि कुनै ठोस निष्कर्ष निकाल्न सकेन । दुवै अध्यक्षबीच पार्टीको स्थायी कमिटि बैठक नरोक्ने सहमति भने भएको छ । स्थायी कमिटि बैठक भोलि बिहान ११ बजे बोलाइएको छ । कतिपयले चिनियाँ राजदूतको सक्रियतापछि पार्टीभित्रको विवाद मत्थरको दिशामा पुगिसकेको दाबी गरेका छन् ।


    मंगलवार, आषाढ २३ २०७७०८:१७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij