काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। त्रिभुवन आर्मी क्लबलाई आज ६ विकेटले हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो । आर्मी छैठौं पटक प्रतियोगिताको उपविजेतामा सिमित भएको हो ।
अहिलेसम्म भएका सातवटै संस्करणको प्रतियोगिताको फाइनल पुगेको आर्मीले पहिलो संस्करणबाहेक कुनै संस्करणको उपाधि चुम्न पाएको छैन । पुलिसले भने पहिलो संस्करणको प्रतियोगितामा आर्मीसँग उपाधी बाडेको थियो । त्यसपछि २०१९ मा भएको तेस्रो संस्करण र गत वर्ष उपाधि जितेको थियो ।
आज भएको फाइनल खेलमा आर्मीले दिएको १ सय ५५ रनको लक्ष्य पुलिसले २५.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । पुलिसलाई च्याम्पियन बनाउँने क्रममा कुशल भुर्तेलले सर्वाधिक ६१ रन जोडे । अमित श्रेष्ठले ३९ रनको योगदान गरेका थिए । आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए ।
त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले बसिर अहमदको अर्धशतकको सहयोगमा ४३ ओभरमा अल आउट हुदै १ सय ५४ रनको सम्मानजनक योगफल तयार गर्यो ।