काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै मितिमा खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
समिति सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापनको कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न र तोकिएकै मितिमा खेलकुद प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताए । प्रतियोगिता आगामी २०८२ जेठ ३ देखि १० सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ।