काठमाडौं । चारदेशीय टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपाल ६ विकेटले विजयी भएको हो।
कुवेतले नेपाललाई दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे भने आशिफ शेखले ३४ बलमा दुई चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे। नेपालका लागि कुशल भुर्तेलले ८१, आशिफ शेखले ५३ तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले ३१ रन बनाए । १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका बलरविरुद्ध कुवेतले सुरुको पाँच ओभर आक्रामक ब्याटिङ गरेको थियो । कुवेतले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।
चारदेशीय टी–२० आई सिरिजमा यो नेपालको दोस्रो जित हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।