काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको छ । बोर्डले परीक्षाको लागि प्रश्न पत्र तयार पार्ने र नतिजा सञ्चालनको काम गर्दै आएको छ । सरकारको यो घोषणासँगै सम्पूर्ण जिम्मेवारी नै प्रदेशमा जानेछ । बोर्डले २०७८ सालमै राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गर्दै एसइई परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको थियो ।
यस्तै विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा उपलब्ध गराउने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत विदेशी विद्यार्थीले नेपालमा पढ्न आउँदा अध्ययन अवधिभरका लागि निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने नीति लिइने अर्थमन्त्री पौडेलले बताउनुभयो । शैक्षिक क्यालेन्डर अवधिभरका लागि विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइने र त्यस्ता विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसाको व्यवस्था गरिने भएको छ ।