काठमाडौं । देशका दुई प्रमुख डिजिटल वालेट — आइएमई पे र खल्ती मर्ज भएर आजदेखि खल्ती बाइ आइएमई (Khalti by IME)का रूपमा एउटै एपमार्फत सेवा सुरु गरेका छन्।
यो मर्जरसँगै बनेको ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ, भने दुवै वालेटका १ करोड २७ लाखभन्दा बढी प्रयोगकर्ता एउटै एपमा समेटिएका छन्। यसले ‘खल्ती बाइ आइएमई’ लाई नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट सेवा प्रदायक बनाएको छ।
साबिक आइएमई पे प्रयोगकर्ताले ‘खल्ती बाइ आइएमई’ मा सजिलै माइग्रेट गर्न सक्नेछन्। वालेटमा भएको रकम, ब्याज, रिवार्ड प्वाइन्टलगायत सम्पूर्ण विवरण नयाँ एपमा स्वतः स्थानान्तरण हुनेछ। खल्ती प्रयोगकर्ताहरूका लागि नयाँ अपडेटमार्फत सुधारिएको सेवा प्रवाह हुने कम्पनीले जनाएको छ ।
‘आइएमई खल्ती लिमिटेड’ का अध्यक्ष कृष्णप्रसाद शर्माले यो मर्जर डिजिटल नेपालको यात्रामा नयाँ उचाइ भएको बताउदै समावेशी वित्तीय पहुँच विस्तारमा कम्पनी प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले यो दीर्घकालीन दृष्टिकोण भएको ऐतिहासिक कदम भएको उल्लेख गर्दै देशका सबै नागरिकलाई डिजिटल वित्तीय सेवामा समावेश गराउने लक्ष्यका साथ मर्ज गरिएको बताउनु भयो ।
सीईओ विनय खड्काले भने, डिजिटल साक्षरता र पहुँच बिस्तार गर्ने नयाँ योजनाहरू छिट्टै ल्याइने जानकारी दिनुभयो ।
यो मर्जरसम्म आइपुग्नुअघि आइएमई पेले र खल्तीले पनि विभिन्न पुरस्कार तथा सम्मान पाएका थिए ।
मर्ज भएपछि उनीहरुले एउटा वालेट, अनेक सुविधा — खल्ती बाइ आइएमई भन्ने नारा तय गरेका छन् ।