काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले वर्तमान सरकारलाई असफल बनाउन अनेकौ प्रपन्च रचिएको टिप्पणी गर्नुभएको छ ।
सरकारबाहिर रहेका प्रतिपक्ष दलहरुले वर्तमान सरकालाई असफल बनाएर आफूहरु सत्तामा आउने खेलमा भएको पूर्वमन्त्री समेत रहनुभएका नेता गुरुङको भनाइ छ ।
भ्रष्टाचार, बेथिती र अनियमिततामा मुछिएका सबै दलका नेता र मन्त्रीहरु भएकाले सरकारमा रहेका कांग्रेस र एमालेका नेता मन्त्रीमात्रै दोषि र यीनै मन्त्रीहरुले देश बिगारेको भन्न मिल्दै नमिल्ने उहाँको तर्क छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै नेता गुरुङले सरकारले केहि पनि गर्दै गरेन भन्दा पनि भएका कामहरु देखेर बाँकी काममा सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।
सरकारमा हुँदा केहि नगरेको प्रतिपक्षले अहिले आफ्नो पालमा भएका भ्रष्टाचार पनि वर्तमान सरकारको नाममा थुपारिरहेको नेता गुरुङको दाबी रहेको छ । प्रमाणका आधारमा दोषी देखिएका सबैले कानुनी दायरामा आउनैपर्ने र बोलीको भरमा नभएर दोषीका आधारमा कसैले पनि उन्मुक्ति नपाउने उहाँको भनाइ छ ।
यस्तै अर्को प्रसंगमा उहाँले रास्वपाका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिषोध भयो भन्नु आफूमा गलत भाष्य रहेको स्पष्ट पार्नुभएको छ ।
कानुनी कारवाहिमा परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछाने थुप्रै आधार, प्रमाणकै आधारमा अहिले जेलमा रहेको बताउँदै नेता गुरुङले सहकारी प्रकरणमा दोषी सरकारमै भएका दलभित्रका नेता मन्त्री भए पनि कारवाहीबाट छुट नपाउने जिकीर गर्नुभयो ।