काठमाडौं। जेनजी आन्दोलनले ल्याएको उथलपुथलले राजनैतिक दलहरुमा आन्तरिक हलचल मच्चीँदै गएको छ। गत भदौ २३ र २४ गते जेनजी समुहले गरेको आन्दोलनले केपी ओली नेतृत्वको सरकार बहिर्गमन गरेसँगै उत्पन्न विसम परिस्थिीतिमा गुमनाम प्राय रहेका दल र नेता कार्यकर्ताहरु स्थीति बिस्तारै सामान्य बन्दै जान थालेपछी पार्टीभित्र सक्रिय बन्न थालेका छन्।
खासगरी पार्टी नेतृत्वकै अक्षमताले वर्तमान परिस्थीति उत्पन्न भएको भन्दै सबै राजनैतिक दलभित्र दोश्रो तेश्रो तहका नेताहरुले पार्टी पूनर्गठनको आवाज उठाउँदै लगेसँगै व्यापक रुपमा आन्तरिक हलचल मच्चिँदै गएको छ ।
गत भदौ २३ गते भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलनमा उत्रिएको जेनजी समुहमाथी सरकारी दमन हुँदा केही प्रदर्शनकारीको ज्यान गएसँगै थप आक्रोशित आन्दोलनकारी भोलीपल्ट २४ गते संसद भवन, सिंहदरबार, सर्बोच्च अदालतदेखी सरकारी कार्यालय तथा राजनैतिक दल र नेताको निवाससँगै व्यसायीक प्रतिष्ठानहरुमा आगजनी र तोडफोडले ठुलो धनजनको क्षति भएपछी बल्ल प्रधानमन्त्रीले राजिनामा दिएसँगै ओली सरकार बर्खास्त भएको थियो ।
त्यसपछी सबै गुमनाम प्राय रहेका राजनैतिक दल र नेता कार्यकर्ताहरु आन्दोलनपछी जेनजीकै माग बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधीसभा विघटन गर्दै पूर्वप्रधानन्याधिस सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरि बनेको अन्तरिम सरकारले नियमित काम कारबाही थालेपछी देशको स्थीति सामान्य अवस्थातर्फ उन्मुख भएसँगै पार्टीका गतिविधिमा सक्रिय भएका हुन् ।
अन्तरिम सरकारले ६ महिनाभित्र अर्थात फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेर काम कारबाही थालेपछी यी दलहरुमा दोश्रो तेश्रो तहका नेता कार्यकर्ताहरुले पार्टी नेतृत्व तहकै अक्षमताले नै वर्तमान स्थीति आएकोभन्दै यहि नेतृत्व र पार्टीका सोही संरचनाबाट निर्वाचनमा होमिन सक्ने अवस्था नरहेको भन्दै नेतृत्व पुस्तान्तरण र हस्तान्तरणसँगै पार्टी पुनर्गठनको आवाज बढाउँदै लगेका छन्।
तर पदिय लोलुपतामा लिप्त नेतृत्व तह भने पद छाड्न आनाकानी गर्दै दोश्रो तेश्रो तहका नेताहरुको आवाज दबाउने उद्देश्यले वेवास्ता गर्दै आएका छन् । तरपनि सबै दलभित्र यो आवाज दैनिक रुपमा बलियो बन्दै गएपछी नेतृत्व तह दवाबमा पर्दै गएको छ ।
जसअनुसार कतिपय दलका नेतृत्वलाई पद छाड्न वाध्य पनि पार्दै गएको देखिन्छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि पार्टी अध्यक्षबाट राजिनामा दिएपछी अन्य दलमा पनि नैतिक दवाब बढ्ने देखिएको छ।
आज पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले देशलाई विकल्प निर्माण गर्ने अभियानमा हिजो पनि रहेको र भोली पनि निरन्तर रहने बताउँदै आन्दोलनबाट अलग नहुने गरी पार्टी अध्यक्ष पदबाट राजिनामा दिएको औपचारिक घोषणा गर्नुभयो । जेनजी युवा आन्दोलन जायज भएको बताउँदै उहाँले पार्टी नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न आँफुले अध्यक्ष पदबाट राजिनामा दिएको बताउनुभयो।
भट्टराईले राजिनामा घोषणा गरेपछी अन्य ठुला दलका नेतृत्वकर्तामा पनि दबाब बढ्ने देखिन्छ। उत्पन्न विषम परिस्थिीतिकै समयमा कांग्रेस एमाले र माओवादी भित्र बढेको नेतृत्व पुस्तान्तरण र हस्तान्तरणसँगै पनर्गठनको विषय अहिले थप चर्किँदै गएको बेला भट्टराईको राजिनामाले बल पुराउने देखिएको हो ।
यसअघिको सरकारमा सबैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसभित्र सुरुबाटै बहसको विषय बनेको नेतृत्व परिवर्तनको विषयमा अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै दोश्रो तेश्रो तहका नेताहरु यतिबेला पार्टी पुर्नगठन वा विषेश महाधिवेशनका लागी कम्मर कसेर लागेका छन् । भने केही नेताहरुले विषेश महाधिवेशनका लागी हस्ताक्षर अभियान नै सुरु गरिसकेका छन्।
नेता राजेन्द्र बजगाँईले पनि केहीदिन पहिले मात्रै कांग्रेस रुपान्तरणका लागी भन्दै १२बुँदे रुपान्तरणका योजना नै सार्वजनिक गर्नुभएको थियो। बदलिँदो परिस्थिति अनुसार पार्टीका सबै संरचना खारेज गरेर पार्टी पुनर्गठन गरेर जानुपर्ने बताउनुभएको थियो।
यस्तै देशको वर्तमान परिस्थिति उत्पन्न हुनेबखत सरकारको नेतृत्वमा रहेको एमालेभित्र पनि पार्टी पूनर्गठनका लागी दबाब व्यापक बढ्दै गएको छ। तत्कालिन प्रधानमन्त्रीसमेत रहेका केपी ओलीविरुद्ध विगतमा आवाज उठाउन नसक्ने नेता कार्यकर्ताहरु पनि अहिले पार्टी नेतृत्व परिवर्तन गर्दै पुनर्गठनका लागी व्यापक आवाज उठाउन थालेका छन्।
जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनर्गठनको अभियानमा साथ दिन अपिल गर्दै एमाले नेता योगेश भट्टराईले पार्टी पुनर्गठनका पक्षमा उभिन आह्वान गर्नुभएको छ। भिडियो सन्देश नै जारी गर्दै नेता भट्टराईले अहिलेको परिस्थितिले खोजेअनुसार बहुआयामीक तवरले पार्टी पुनर्गठन गर्नैपर्ने उहाँको जोड छ।
यस्तै नेकपा माओवादी केन्द्रभित्रपनि यो बहस उत्कर्षमा छ। पार्टी नेतृत्व हस्तान्तरण र पुनर्गठनका लागी आवाज उठ्दै गर्दा विगतमा पेलेरै अगाडी बढ्नुभएका स्वयं अध्यक्ष प्रचण्ड नै यतिबेला केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन गर्ने निर्णयमा पुग्नुभएको छ।
तर पार्टीभित्र अहिले नै कार्यवाहक अध्यक्ष तोकेर पार्टी पुर्नगठनमा लाग्नुपर्ने आवाज बलियो बन्दै गएको छ। यद्यपी अध्यक्ष प्रचण्डले आफ्नो भूमिका बदल्न तयार रहेको कुरा स्पष्टसँग राखिसकेको बताउँदै उपमहासचिव वर्षमान पुनले अहिले जेनजी आन्दोलनपछि यो बहस अघि बढेकोले अब महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गर्ने बताउनुभयो।
सिमित स्वार्थकेन्द्रित नेतृत्व तहका कारण वर्तमान परिस्थिति निर्माण भएपछी विगतमा पार्टीभित्र नेतृत्वमाथी प्रश्न उठाउन नसकेका नेता कार्यकर्ताहरु पनि यतिबेला खुल्न थालेका छन् । अब पनि निहित स्वार्थका कारण उत्पन्न विषम परिस्थिीति र बदलिँदो परिस्थिति अनुसार चल्न नसक्ने हो भने पुराना भनिएका दल तथा नेता कार्यकर्ताहरुलाई आगामी निर्वाचन अझै भारी पर्ने प्रष्ट देखिन्छ ।