काठमाडौं । आजदेखि असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । सोही पूर्वानुमानलाई ध्यानमा राखेर सबैलाई उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
अहिले देशका विभिन्न स्थानमा बर्षा भईरहेको छ । भारी बर्षा पछि हुने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको छ । कतिपय राजमार्गहरूमा सवारी आवागमनमा कडाई गरिएको छ ।
राजनीतिक तरलता र अनिश्चयको अवस्थामा विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न गैरसरकारी क्षेत्रको पनि ठुलो भूमिका भएकोले विपद्का सन्दर्भमा आफ्नो भूमिका पहिचान गरेर योगदान गर्न आग्रह गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक जनशक्ति सहित उपकरणहरु र गोदामघर तयारी अवस्थामा रहेको जानकारी दिएको छ ।
पूर्व तयारी, पूर्व कार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने गरि प्राधिकरण तयारी अवस्थामा छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार स्थानिय स्तरमा भएका स्रोतले नपुगे तुरुन्त केन्द्रवाट परिचालन हुने गरि प्राधिकरण तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
पहिलेका बर्षहरुको विपद्मा उद्धारकार्यमा प्राधिकरण केहि मात्रामा चुकेको थियो । त्यसबाट धेरै कुरा सिकेर प्राधिकरणले अहिलेको तयारी गरेको दाबी गरेको छ । तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ।
विपद् प्राधिकरणका प्रवक्ता महत सम्भावित विपद्लाई ध्यानमा राखेर हेलिकोप्टर, ड्रोन, डुंगासम्बन्धी संघ–संस्था तथा निजी क्षेत्रसँग समझदारी गरिएको र विपद्को अवस्थामा उनीहरुको सहयोग प्राप्त हुने बताउनुहुन्छ ।
पूर्वानुमानसम्बन्धी अद्यावधिक जानकारीलाई यथाशक्य छिटो र बुझिने गरी समुदायसम्म सम्प्रेषण गरिने प्रतिबद्धता पनि विपद् प्राधिकरणले गरिरहेको छ । यसका लागि सबै नेटवर्कहरूलाई सक्रिय बनाउन गैरसरकारी क्षेत्रलाई आग्रह गरिएको हो ।
प्राधिकरणले वक्तव्य जारी गरेर ‘उच्च सतर्कताका लागि अनुरोध’ गरिसकेको छ। तिन चार दिनसम्म हुने भनिएको भारी बर्षाले ठुलो क्षतिको आँकलन भएको छ । त्यसका लागि आवश्यक सतर्कता अपनाउन विपद् प्राधिकरणले सर्वसाधरणलाई आग्रह गरेको हो । प्राधिकरणले वर्षा हुनसक्ने चार दिनको अवधिमा अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न सबै सर्वसाधारण र यात्रुहरूलाई सूचित गरेको छ।
प्रवक्ता महतले उच्च सतर्कता भन्नाले लापरवाही तरिकाले यात्रा नगर्न ,सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताउनुहुन्छ । नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउने, डुबान हुने बस्तीका बासिन्दाहरूले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिएर अरूलाई पनि जानकारी दिन उहाँको आग्रह छ ।
जल तथा मौसम विज्ञान विभागले असोज १८ गते अर्थात भोलि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र असोज १९ गते कोशी, मधेस, बागमती र गण्डकीका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यून चापिय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशका विभिन्न भूभाग खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय भएको हो ।
मौसमविद्हरुले मौसम विभागले जारी गरेको पूर्वानुमान र सूचनालाई अटेर नगर्न आम नागरिक सबैलाई चेतावनी पनि दिएको छ ।
गएका बर्षमा मौसमबारे पूर्वानुमानलाई अटेर गर्दा जनधनको क्षति भएको भन्दै मौसम सम्वन्धी जानकारी लिन ११५५ मा फोन गरेर मौसम र बाढी सम्वन्धी जानकारी लिन वरिष्ठ मौसमविद् मानन्धर आग्रह गर्नुहुन्छ ।
देशैभरका जिल्ला प्रशासन कार्यालयले यो समयमा नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिरहेका छन् । यसैगरि, देशका उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाल लगायतका क्षेत्रको पदयात्रामा नजान पदयात्री तथा पर्यटकलाई आग्रह गरिएको छ ।
वर्षासँगै पहिरोको पनि जोखिम भएकाले यातायात विभागले राति यात्रा नगर्न आग्रह गरेको छ । सडक विभागले पनि राति यात्रा नगर्न सुझाएको छ । र मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद् प्रतिकार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।
सडक विभागले नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काभ्रे जिल्ला प्रशासनले बीपी राजमार्ग (काभ्रे भञ्ज्याङ–भकुण्डेबेँसी–सिन्धुली सडकखण्ड) मा हिजै असोज १६ गते रातिदेखि असोज २१ गते मंगलबारसम्म (साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म) का लागि गाडी चलाउन रोक लगाइसकेकेको छ ।
यसैगरी हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा पनि आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मनाङ–लमजुङ सडकमा पनि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले असोज २० गतेसम्म भारी वर्षा र विपदजन्य जोखिमको सूचना रहेको भन्दै रातको समयमा काठमाडौं आवतजावत नगर्न आग्रह गरेको छ । काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्नेहरूले रातको समयमा यात्रा नगर्न समेत सूचित गरेको छ ।
आजै मात्र गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
आउने केहि दिन भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको यो अवस्थामा सबैले उच्च सतर्कता अपनाउन अत्यावश्यक छ । मौसम विभाग र विपद् प्राधिकरणले यसअघिका पूर्वसूचनाहरुलाई नागरिकले वेवास्ता गरेकाले ठुलो क्षति भएको भनिरहेका छन् ।
विपत्ति बाजा बजाएर आउदैन । विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न तपाई हाम्रो पनि ठुलो भूमिका हुन्छ । अरुलाई आपत् विपद् परे आवश्यक सहयोग र उद्धार गरौं । मौसम पूर्वानुमानलाई ध्यानमा राखेर जो जहाँ हुनुहुन्छ ,सुरक्षित भएर बस्नुहोला ।