काठमाडौं । परिवार साथमा नहुँदा ज्येष्ठ नागरिक एक्लिदै भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोलले चिन्ता व्यक्त गरेको छ ।
कतिपय जेष्ठ नागरिकले पारिवारिक विखण्डन,पारिवारिक हेला र वृद्धाश्रममा लगेर राख्ने प्रवृति लगायतले परिवारका सदस्य सँगै नहुँदा एक्लिनु परेको र उनीहरुको सम्मान,हेरचाह र माया समेत कमी आउँदा आफ्नो अधिकार उपभोगबाट समेत बञ्चित हुनु परेको बताएको छ ।
पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विज्ञप्ति निकालेर आयोगले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित पनि गर्न आग्रह गरेको छ ।
अध्ययनका क्रममा ज्येष्ठ नागरिक आफ्नो अधिकारका बारेमा जानकार नहुनुका साथै उनीहरूले राज्यले प्रदान गर्ने सेवा सुविधाको प्रभावकारिताको अनुभूति गर्न नपाएको देखिएको प्रवक्ता डा. टीकाराम पोखरेलले बताए ।
नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजार तीन सयभन्दा धेरै छ । आउँदा दिनमा ज्येष्ठ नागरिकको सङ्ख्या अझ बढ्ने आँकलन गरिएको छ । ‘हाम्रो साझा अभियान ः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ आज पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।