काठमाडौं। नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न माग गर्नुभएको छ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ता समेत रहनुभएका नेता तिवारीले शुक्रबार प्रेस नोट जारी गर्दै तोकिएको अवधिमा नियमित महाधिवेशन हुने कुनै संकेत नदेखिएको बताउनुभएको हो।
यसलाई लिएर तिवारीले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ। उहाँले भदौ २३ र २४ को उथलपुथलपछि बसेको कांग्रेसको ४९ दिन लामो केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२८, २०८२ का लागि महाधिवेशन तय गरे पनि पुस ११ सम्म आइपुग्दा त्यसो हुने कुनै गुञ्जायस नरहेको बताउनु भएको छ।
पार्टी प्रवक्ताले नै तोकिएको अवधिमा नियमित अधिवेशन हुन नसक्ने संकेत दिएको उल्लेख गर्दै तिवारीले यसलाई पार्टीभित्र परिवर्तनको माग गरिरहेका बहुसंख्यक महाधिवेशन प्रतिनिधिमाथिको अपमान भन्नुभएको छ। उहाँले पार्टीको अकर्मण्य प्रवृत्तिले विशेष महाधिवेशनको आवाज दबाउने प्रयास भएको आरोप लगाउनुभएको छ।
‘नियमित अधिवेशनको कार्यतालिका विशेष महाधिवेशनको मागलाई कमजोर बनाउन रचिएको छलछामभन्दा बढी केही रहेन,’ उहाँले भन्नुभएको छ। ‘रकेट गति’मा हुने भनिएको महाधिवेशन कार्यतालिकामा विश्वास गर्नु कार्यकर्ताहरूको ठूलो भूल भएको टिप्पणी गर्नुभयो।
विशेष महाधिवेशनका लागि हस्ताक्षर गरिसकेका कार्यकर्ताहरू अब मौन बस्न नसक्ने बताउँदै तिवारीले केन्द्रीय कार्यालय घेर्न पनि आह्वान गर्नुभएको छ।