काठमाडौं। सरकारले निर्वाचनको वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संवाद तिब्र पारेको छ। यसअघी सरकारको उच्चस्तरीय राजनीतिक संवाद कार्यदलले मुख्य राजनैतिक दलका कार्यलयमै पुगेर छलफल तथा परामर्श गरी राय सुझाव संकलन गरेको थियो।
त्यसपछी सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री जगदिश खरेलले हिजो मुख्य दलका शिर्ष नेताहरुसँग भेटवार्ता गरेपछी आज स्वयं प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गर्नुभएको छ।
आज प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय बालुवाटारमा शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग निर्वाचनको अन्तिम तयारी तथा दलहरूबिचको थप समन्वयका लागि बैठक आह्वान गरी छलफल तथा परामर्श गर्नुभएको हो।
यसअघी राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताबिचका छलफल तथा पटकपटक भएका सर्वपक्षीय बैठकहरुमा दलका नेताहरुले आँफुहरु फागुन २१को निर्वाचनमा जान तयार भएपनि सरकारले चुनावी वाताबरण बनाउन नसकेको भन्दै आलोचना गर्दै आएका थिए।
त्यसपछी सरकारका तर्फबाट स्वच्छ स्वतन्त्र र निष्पक्ष तथा भयरहित रुपमा चुनाव सम्पन्न हुने गरी निर्वाचनको वातावरण बनाउने प्रतिवद्धता आइसकेको छ। तथापी थप विश्वास दिलाउन सरकारले गठन गरेको कार्यदलले सबै दलका कार्यालयमै पुगेर नेताहरुसँग परामर्श गरेको थियो भने त्यसपछी हिजो सञ्चारमन्त्री खरेलले भेटवार्ता गर्नुभएपछी आज अझै सघन संवादका लागी प्रधानमन्त्री कार्कीले नै शिर्ष नेताहरुसँग छलफल गर्नुभएको हो।
अहिलेसम्म भएका वार्ता तथा छलफलले निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट भएको मन्त्री खरेलको निष्कर्श छ। तीन ठुला दलका शीर्ष नेताहरुले पनि भेटका क्रममा निर्वाचन हुनुपर्छ हामी निर्वाचनबाट पर भाग्न सक्दैनौं, निर्वाचनको विकल्प छैन भन्ने स्पष्ट धारणा राखेको भन्दै उहाँले सरकारले पनि निर्वाचनको वातावरण बनाउन पहल गरिरहेकोले अब निर्धारित मितिमै चुनाव हुने स्पष्ट र विश्वासको वातावरण बनेको बताउनुभयो।
यता, निर्वाचनका लागी सबै दल आन्तरिक तयारीमा होमिसकेका छन् तथापी एमालेले भने अझैपनि सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र पार्टी अध्यक्षमाथी लगाइएको स्थान हद हटाउनुपर्ने माग राखेको छ।
एमाले नेता रघुविर महासेठका अनुसार सरकारको उच्चस्तरीय राजनीतिक संवाद कार्यदलसँगको छलफलमा पनि एमालेले अध्यक्ष ओलीको स्थानहद फुकुवा नभएसम्म निर्वाचनको वातावरण नबन्ने स्पष्ट अडान राखेको छ। नेता महासेठले सरकारले दलहरुप्रति निषेधको भाव राखेको आरोप पनि लगाउनुभयो।
यस्तै नेपाली कांग्रेसले पनि निर्वाचनका लागी कांग्रेस स्पष्ट रहेको जवाफ दिएको छ। कार्यदलसँगको भेटवार्तामा उपसभापति धनराज गुरुङ्गले निर्वाचनमा जानकै लागी कांग्रेसले आफ्नो तयारी तिब्र पारेको भएपनि सरकारकै काम कारबाहीले उचित वातावरणको सुनिश्चीत नगरेको बताउनुभयो।
जेनजी आन्दोलनले बनेको सरकारले जेनजीकै चित्त बुझाउन नसकेको भन्दै उहाँले अहिले जेनजीहरु नै निर्वाचन हुन दिँदैनौं भनेकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने सरकारले चुनावी तयारी तिब्र पारेको र कार्यदल नै बनाएर राजनैतिक दलका कार्यलयमै पुगेर गरेको परामर्शले सरकारमा राजनैतिक सँस्कार छ भन्ने पुष्टि गरेको बताएको छ। राप्रपा नेता राजेन्द्र गुरुङ्गले अहिले चुनावका लागी सरकारले चालेका कदमले निर्वाचनकै माहौलमा थप सुमधुर बनाउन मद्दत गरेको बताउनुभयो।
गत भदौ २३÷२४मा भएको जेनजी आन्दोलनले उत्पन्न परिस्थितिपछी बनेको अन्तरिम सरकारले आगामी फागुन २१ मा निर्वाचन गरी जननिर्वाचित सरकारलाई सत्ता सुम्पिने तयारीका साथ निर्वाचनको तयारी तिब्र पारेको छ। जसमा सुरुवातमा निर्वाचनका लागी केही दल तथा व्यक्तिहरु आनाकानी गरेपनि अहिले भने सबै चुनावमा जान तयार बनिसकेका छन्।
दलहरुलाई निर्वाचनका लागी विश्वासमा ल्याउने उद्देश्यले सरकारले उच्चस्तरीय राजनीतिक संवाद कार्यदल नै गठन गरेको छ भने कार्यदलसँगै प्रधानमन्त्री स्वयं पनि दल र तीनका नेतृत्वकर्तासँग पटकपटक छलफल र वार्तामा बसिसक्नुभएको छ।
आजमात्रै भएको छलफलमा पनि पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्ड सबैले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्, जसले तोकिएकै समयमा निर्वाचन हुने विश्वासको वातावरण बन्दै गएको देखिन्छ।