Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

शेखर निकटका सुनिल शर्मा पनि उभिए विशेष महाधिवेशनको पक्षमा

शेखर निकटका सुनिल शर्मा पनि उभिए विशेष महाधिवेशनको पक्षमा

  • बिहिवार, पौष २४ २०८२

  • 1.6K
    SHARES

  • शेखर निकटका सुनिल शर्मा पनि उभिए विशेष महाधिवेशनको पक्षमा
    काठमाडौं। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवाद विशेष महाधिवेशनमार्फत समाधान हुने दाबी गर्नुभएको छ। 
     
    विशेष महाधिवेशनको आह्वानपछि पार्टी विभाजनको आशंका गरिँदै आएका बेला उहाँले कांग्रेस “फुट्नै नसक्ने” स्पष्ट धारणा राख्नुभएको हो । शेखर कोइराला निकट मानिँदै आउनुभएका मोरङका नेता शर्माले पछिल्लो समय महामन्त्री गगन थापा र नेता चन्द्र भण्डारीसँग संवाद बढाउनु भएको छ।
     
    बुधबार थापा र भण्डारीसँग भएको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उक्त भेटलाई लिएर आफू कुनै नयाँ गुटको लाइनमा गएको आरोप अस्वीकार गर्दै शर्माले पार्टी जोगाउने साझा प्रयास भएको बताउनुभएको छ। 
     
    उहाँका अनुसार कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा विधानअनुसार समयमै अधिवेशन गरिनु अनिवार्य विषय हो। “चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने कुरा पार्टी विधानमै स्पष्ट छ,” उहाँले भन्नुभयो, “तर संस्थापनले राज्यसत्ता र पार्टीसत्ता दुवै हातमा राखेर पनि अधिवेशन गराएन। यही नै अहिलेको संकटको मूल कारण हो।”
     
    डा. शर्माले जेन–जी आन्दोलनपछि मुलुकभरिका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियानमार्फत विशेष महाधिवेशनको माग गर्नु स्वाभाविक भएको बताउनुभयो। “विधान लत्याएर बहुमतको उन्मादमा पार्टी चलाउने प्रयास स्वीकार्य हुँदैन,” उहाँको टिप्पणी छ।
     
    विशेष महाधिवेशनको आह्वान भइसकेको अवस्थामा पार्टी केन्द्रीय कार्यालयले सहभागी नहुन निर्देशन दिएको सन्दर्भमा शर्माले आफूहरू पार्टी नफुटोस् भन्ने लाइनमा रहेको स्पष्ट पार्नुभयो। “कांग्रेस लोकतान्त्रिक पार्टी हो। भेला राख्न र विचार राख्न पाउने अधिकार कसैले खोस्न सक्दैन,” उहाँले भन्नुभयो। 
     
    पार्टीभित्र विभाजनको खतरा बढेको हो कि भन्ने प्रश्नमा उहाँले कांग्रेस ‘एक्स्ट्रिम’ अवस्थामा पुगे पनि फुट्ने अवस्थामा नरहेको दाबी गर्नुभयो। “समस्या पार्टीभन्दा नेता ठूलो बन्न खोज्नु हो,” उहाँले भन्नुभयो, “चुनाव जित्न नसक्ने, जनताबाट अस्वीकृत व्यक्तिहरू सत्ता र पार्टी कब्जा गरेर बसेका छन्। तर त्यसकै कारण कांग्रेस फुट्दैन।”
     
    उहाँले गगन थापा, विश्वप्रकाश शर्मा, नेविसंघ हुँदै आएका युवा नेताहरूको भविष्य कांग्रेससँग जोडिएको उल्लेख गर्दै पार्टी फुटाउने दुस्साहस उनीहरूले नगर्ने बताउनुभयो। “हजारौं कार्यकर्ताको पसिना र रगतले बनेको पार्टी दुई–चार जना वरिपरि बसेका हनुमन्तेहरूका कारण फुट्दैन,” उहाँको भनाइ छ।
     
    विशेष महाधिवेशनमा आफू सहभागी हुने–नहुने विषयमा भने शर्माले अझै अन्तिम निर्णय नलिएको संकेत गर्नुभयो । “म भौतिक रूपमा सहभागी नहुन सक्छु, तर मेरो सम्पूर्ण भावना विशेष महाधिवेशनका साथीहरूसँगै छ,” उहाँले भन्नुभयो, “केन्द्रीय कमिटीको निर्णय र वैधानिक बाटोबारे छलफल भइरहेको छ।”
     
    शेखर कोइरालासँग धारणा नमिलेको भन्ने चर्चालाई उनले अस्वीकार गर्नुभयो। “पूर्ण रूपमा मिल्छ,” शर्माले भन्नुभयो, “शेखर कोइराला कहिल्यै महाधिवेशनको विपक्षमा हुनुहुन्न। समयमै अधिवेशन हुनुपर्छ भन्ने आवाज उठाउने पहिलो नेता उहाँ नै हुनुहुन्छ।”
     
    यदि संस्थापन पक्षले विशेष महाधिवेशन आह्वानकर्ताविरुद्ध कारबाही गरे के हुन्छ भन्ने प्रश्नमा शर्माले कडा चेतावनी दिनुभयो। “अहिले नेताहरूले कार्यकर्तालाई कारबाही गर्ने नैतिकता गुमाइसकेका छन्, दमनको बाटो अपनाइयो भने पार्टी अराजकतातिर जान्छ।”
     
    अन्त्यमा उहाँले कांग्रेसलाई नागरिकमुखी र आन्तरिक रूपमा लोकतान्त्रिक बनाउनु नै निकास भएको बताउनुभयो । “कांग्रेस फुट्दैन,” शर्माले दोहो¥याउनुभयो, “तर सुधार भएन भने पार्टी कमजोर हुन्छ।”

     


    बिहिवार, पौष २४ २०८२०४:०४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij