काठमाडौं। यसपटक राजनीतिक दलहरुले अग्रीम भावी प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर निर्वाचनको मैदानमा होमिएका छन्। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रायः सबै मुख्य दलहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मैदानमा उत्रिएका हुन्।
जेनजी आन्दोलनले उत्पन्न विसम परिस्थितिपछी संसद विघटन गरी आउँदो फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने कार्यादेशसहित गठित पूर्वप्रधानन्यायाधिस सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको तयारी तिब्र पारेपछी दलहरु पनि मुलुकको परिवर्तित अवस्थालाई मध्यनजर गर्दै भावी प्रधानमन्त्री नै घोषणा गरेर मैदानमा उत्रिएका हुन्।
नेपालको संसदीय अभ्यासमा सामान्यतया चुनावपछि चयन हुने संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएपनि यसपटक दलहरूले चुनावअघि नै आधिकारिक उम्मेदवार घोषणा गरेर जाँदा परिवर्तित अवस्थामा बढीभन्दा बढी मत र सिट प्राप्त गर्न सकिने अपेक्षाका साथ नयाँ रणनीतिमा जुटेका हुन्।
जसअनुसार नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। कांग्रेसले २०५६ सालको चुनावमा कृष्णप्रसाद भट्टराईलाई उम्मेदवार घोषणा गरेपछि झन्डै तीन दशकपछि यस्तो निर्णय गरेको हो।
जेनजी विद्रोहको परिवर्तनको सम्बोधन गर्नको लागि योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको उपसभापति विश्वप्रकाश शर्माको जिकिर छ। अन्य पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार भन्दा कांग्रेसले अघि सारेको उमेदवार योग्य रहेको शर्माले दाबी गर्नुभयो।
यस्तै,नेकपा एमालेले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ।
त्यस्तै अघिल्लो निर्वाचनको मुखमा जन्मिएर पनि मुलुकको चौथो शक्ति बनेको तथा अहिले पनि सिँगो देशकै राजनीतिक केन्द्रमा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।
रास्वपा नेता हरी ढकालले ३५ वर्षदेखी जारी नौ नौ महिनामा लिगलिगे दौडजसरी प्रधानमन्त्री फेरिरहने प्रवृति अन्त्य गर्न रास्वपाले सम्पूर्ण युवाहरु र आम नेपालीले खोजेजस्तो उमेदवार घोषणा गरेर अगाडी बढेको जिकिर गर्नुभयो। रास्वपाले तय गरेको भावी प्रधानमन्त्रीको उमेदवारले गर्दा नै उत्साह जगाएको ढकालको दाबी छ।
तर, नेपाली कम्युनिष्ट पार्टीले भने नेपालको संसदीय अभ्यासमा सामान्यतया चुनावपछि चयन हुने संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रचलन रहेकोले सोही अनुरुप निर्वाचनपछी नै घोषणा गर्ने तयारीमा रहेको बताउँछ।
नेकपा नेता माघव सापकोटाले पार्टी अध्यक्ष नै संसदिय दलको नेता बन्ने र संसदिय दलको नेता नै प्रधानमन्त्री बन्ने प्रचलन रहेकोेले अहिले केही दलहरुले नयाँ अभ्यास गर्दैमा सबैले त्यही गर्नुपर्छ भन्ने मान्यताम नेकपा नरहेको बताउनुहुन्छ।
त्यस्तै, पहिलोपटक निर्वाचनमा होमिन लागेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि आफूलाई नै भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्नुभएको छ।
खासगरी यसपटक सुरुमा रास्वपाले बालेन्द्र शाहलाई उम्मेदवार घोषणा गरेपछि पुराना दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेरै चुनावमा गएका हुन्। यसलाई विज्ञहरुले पनि केही दलले पपुलारिटीका लागि त्यो अभ्यास गरेकोले पुराना दलहरुले पनि घोषणा गरेर जाने अवस्था आएको बताउँछन्।
राजनैतिक विश्लेषक डा. गंगाधर अधिकारीले संसदिय पद्धतिमा निर्वाचनपछाडी संसदीय दलको नेता चयनपछी मात्रै प्रधानमन्त्रीको उमेदवारको टुँङ्गो लाग्ने भएपनि निर्वाचन अगावै भावि प्रधानमन्त्री तोकेर जानु पनि सकारात्मक नै रहेको बताउनुहुन्छ।
नेपालको संसदीय अभ्यासमा सामान्यतया चुनावपछि चयन हुने संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रचलन छ। तथापी यसपटक केही दलहरूले चुनावअघि नै भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मतदातासमक्ष जाँदैछन्। यसले मतदातालाई मनोवैज्ञानिक प्रभाव पर्न सक्ने भए पनि उम्मेदवारले चौतर्फी घेराबन्दीको सामना गर्नुपर्ने चुनौती कायम देखिन्छ।
तथापी मतदातालाई सुरुमै भावी प्रधानमन्त्रीको उमेदवार हेरेर तथा उसको योजना र कार्यादेश सहितको घोषणापत्र तथा क्षमता हेरेर कुन दललाई मत दिने भन्ने कुराको निक्र्यौल गर्न पाउने भएकोले यसलाई सकारात्मक रुपमा लिन सकिन्छ।