काठमाडौं। आसन्न निर्वाचनका लागि राजनीतिक दल र उमेदवारहरु घोषणापत्रबिनै यतिबेला निर्वाचन क्षेत्र चुनावी घरदैलो अभियान थालिसकेका छन्।
आउँदो फागुन २१ गतेका लागि तय निर्वाचनका लागि दलहरु यतिबेला घोषणापत्र निर्माणको गृहकार्यमा छन्। तर उमेदवारहरु भने निर्वाचन क्षेत्रमा मतदाता रिझाउन व्यस्त छन् भने डिजिटल माध्यमबाट पनि चुनावी प्रचार तिब्र पारेका छन्।
विगतमा निर्वाचनपछी मात्रै भावी प्रधानमन्त्रीको टुङ्गो लगाउने गरेका दलहरु अहिले चुनावअघी नै घोषणा गरेर निर्वाचनमा होमिएका छन्। कांग्रेसले सभापति गगन थापा र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह, एमालेले औपचारिक रूपमा घोषणा नगरे पनि अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्। तर, उनिहरु कसैले पनि अहिलेसम्म आफू प्रधानमन्त्री भएपछि गर्ने योजनासहितको प्रतिबद्धतापत्र ल्याइसकेका छैनन्।
निर्वाचनमा भाग लिएका कांग्रेस, एमाले, नेकपा, रास्वपा, जसपा नेपाल, उज्यालो नेपाल, जनमत, नागरिक उन्मुक्ति, श्रम संस्कृतिलगायत दलहरुले अहिले घोषणापत्र निर्माणको गृहकार्यमा जुटेको बताएका छन्।
कांग्रेसले सभापति थापा, एमालेले अध्यक्ष ओली, नेकपाले नेता नारायणकाजी श्रेष्ठ, रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति बनाएर घोषणापत्र लेखिरहेका छन्। अन्य दल पनि टिम नै परिचालन गरेर घोषणापत्र तयारीमा जुटेका छन्।
यसपटक अति महत्त्वाकांक्षीभन्दा पनि यथार्थपरक प्रतिबद्धता घोषणापत्रमा समेट्ने उनीहरूको दाबी र रणनीति देखिन्छ । नेपाली कांग्रेसले आन्तरिक अनौपचारिक तयारी सुरु गरेपनि औपचारिक रुपमा घोषणापत्र लेखनको सुरुवात भने भोलीदेखी बस्ने केन्द्रिय समितिको बैठकपछी मात्रै गर्ने भएको छ।
कांग्रेस नेता रामहरी खतिवडाले उमेदवार गाउँगाउँ पुसिकेकोले अव घोषणापत्र ल्याउन ढिला गर्न नहुनेमा जोड दिँदै केहीदिनमै कांग्रेसले कार्यान्वायनयोग्य र छरितो घोषणापत्र ल्याउने बताउनुभयो।
यस्तै, नेकपा एमालेका नेता महेश वर्तौलाले पार्टीभित्र एउटा टिम अहिले घोषणापत्र लेखनमा व्यस्त रहेकोले केही दिनमै सार्वजनिक गरिने बताउनुभयो। निर्वाचन आचारसंहिता, मुलुकको परिस्थिति र अवस्था हेरेर एमालेले प्रतिवद्धतापत्र तथा घोषणापत्र ल्याउने वर्तौलाको जिकिर छ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले पनि आफ्नो घोषणापत्र अन्तिमचरणमा पुगेको बताएको छ। नेकपा नेता माधव सापकोटाले उमेदवार तथा केही नेताहरु मनोनयनदेखी नै निर्वाचन क्षेत्रमा केन्द्रित भएपनि विज्ञहरुको टोलीले घोषणापत्र लेखनलाई अन्तिम चरणमा पुराएकोले केहीदिनमै सार्वजनिक गरिने बताउनुभयो।
खासगरी राजनीतिक दलहरूको चुनावी घोषणापत्रमा राजनीतिक तथा नीतिगत दृष्टिकोण, मुलुकको आर्थिक–सामाजिक सुधारका योजना र मतदातासँगको प्रतिबद्धता हुन्छ। तर दल तथा उमेदवारहरुले प्रतिबद्धता एउटा र व्यवहार अर्को गर्ने प्रवृत्तिका कारण मतदाताले पनि घोषणापत्र हेरेर मत हाल्ने अभ्यास खासै देखिँदैन।
अर्कातिर घोषणापत्र देखावटी र महत्वाकांक्षी आउने तर कार्यान्वायन भने शुन्य हुने प्रचलनले मतदातामा विश्वास पनि कम देखिन्छ। त्यसकारण नीति,सिद्धान्त र योजनाभन्दा पनि व्यक्तिको ‘छवि’ देखाएर चुनावमा जाने प्रवृत्ति रहेको छ।
राजनैतीक विश्लेषक डा.गंगाधर अधिकारीले दलहरूले लोकप्रिय बन्न कार्यान्वयन हुनै नसक्ने विषय पनि घोषणापत्रमा राख्ने गर्दा समस्या आउने गरेकोले कार्यान्वायनमुखी र व्यवहारिक घोषणापत्र ल्याउनुपर्नेमा जोड दिनुहुन्छ। देख्दा जति राम्रो देखिएपनि चित्र खान नमिल्ने तर्क गर्दै उहाँले देशको अवस्था, परिस्थिति, आवश्यकतालाई मध्यनजर गर्दै व्यवहारीक र कार्यान्वायन योग्य घोषणापत्र ल्याउनुपर्ने बताउनुभयो।
घोषणापत्र पार्टीले आफ्नो एजेन्डा राख्ने ‘प्लाटफर्म’मात्रै नभएर नागरिकसँग गरिने दोहोरो संवादको माध्यम समेत हो। यसबाट पार्टीले आफ्नो अतीत, नेतृत्व, आचरण, व्यवहार, कार्यक्रमलाई जनतामाझ चिनाउँछ। नागरिकले पनि विकास, अधिकार, सेवा प्राप्ति जस्ता क्षेत्रमा भोगेका समस्या समाधानमा दलहरूको भूमिका खोज्छन्। त्यसका आधारमा योग्यतमलाई छान्छन्। त्यसका लागि घोषणापत्र चाहिन्छ।
उक्त घोषणापत्रमा पाँच वर्षको अवधिमा गर्न सकिने, देखिने र राष्ट्रिय आवश्यकतासँग तालमेल हुने विषयवस्तु मात्रै लेखिनुपर्छ भने गर्न सकिने काम र कार्यान्वयनका चरणमा हुन सक्ने कानुनी र प्रशासनिक अवरोध, उत्प्रेरणाको खाँचो र अनुगमनलाई पनि ख्याल गरिनुपर्छ।
तर, दलहरूले यस्ता पक्षलाई ध्यान नदिएर बढी महत्वाकांक्षी घोषणापत्र ल्याउने गर्दा कार्यान्वायनको चरणमा जाँदा कम हुने गरेका छन्। जसकारण दल तथा उमेदवारहरु चौतर्फी आलोचना र प्रश्नको परिवन्धमा पर्ने गरेका छन्।
तसर्थ आगामी निर्वाचनका लागि सबै दलहरुका घोषणापत्र र उमेदवारहरुका वाचा वा प्रतिवद्धतापत्र महत्वाकांक्षी कम र कार्यान्वायनमुखी बढी हुन जरुरी छ।