Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय झण्डाको व्यापक दुरुपयोगपछी नागरिक स्तरबाटै विरोध, झण्डाको गरिमा र महत्व जोगाउन दवाब, दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउन माग(खासखबर)

राष्ट्रिय झण्डाको व्यापक दुरुपयोगपछी नागरिक स्तरबाटै विरोध, झण्डाको गरिमा र महत्व जोगाउन दवाब, दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउन माग(खासखबर)

  • बुधवार, माघ १४ २०८२

  • 588
    SHARES

  • राष्ट्रिय झण्डाको व्यापक दुरुपयोगपछी नागरिक स्तरबाटै विरोध, झण्डाको गरिमा र महत्व जोगाउन दवाब, दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउन माग(खासखबर)
    काठमाडौं। राष्ट्रिय झन्डाको व्यापक दुरुपयोग हुन थालेपछी यो विषयले सार्वजनिक चासोका रुपमा मात्रै नभएर चौतर्फि चर्चा पाएको छ। चुनावी गतिविधि सुरु भएसँगै व्यापक बढेको चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झण्डाको दुरुपयोगलाई लिएर नागरिक स्तरबाटै व्यापक विरोध र खबरदारी सुरु भएको छ। 
     
    आसन्न निर्वाचन केन्द्रित गतिविधि र त्यसअघीका जेनजी आन्दोलनमा भएकाजस्ता आगजनी, तोडफोड, डकैती, चोरी जस्ता घटनामा पक्राउ परेकाहरूले पनि राष्ट्रिय झन्डा ओढेर त्यस्तो दुष्कर्म गरेको भन्दै उनीहरूमाथि झन्डा दुरुपयोगको कारबाहीको माग गर्दै आम नागरिकदेखी सदनसम्मै आवाज उठेपछी सरकारले पनि सचेत गराएको छ। 
     
    नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन ‘राष्ट्रिय झन्डा र राष्ट्रिय गीतको प्रयोगसम्बन्धी कार्यविधि,२०६९’ कार्यान्वयनमा रहेको छ। राष्ट्रिय झन्डाको आकार, प्रयोग, प्रयोग गर्ने विधि, राष्ट्रिय झण्डा फहराउने विधि एवम् राष्ट्रिय झण्डाको प्रयोगमा निषेध सहितका प्रावधानहरू रहेका छन्। 
     
    त्यस्तै, निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा पनि दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको छ।
     
    त्यसैगरी मुलुकी अपराधसंहिता, २०७४को दफा १५१मा नेपालको राष्ट्रिय झण्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्न नहुने व्यवस्था रहेको र सोको उल्लंघन भएमा सजायको व्यवस्थासमेत गरिएको छ। 
     
    तर, यी सबै प्रावधान र व्यवस्थाको उल्लङ्घन गर्दै विभिन्न व्यक्ति, समुह तथा निर्वाचनका होमिएका उमेदवार र दलहरुले झण्डाको व्यापक दुरुपयोग गरेपछी यसको चौतर्फि विरोध र आलोचना सुरु भएपछी तथा विभिन्न क्षेत्रका जानकारहरुले समेत सचेत गराएपछी सरकारले पनि विज्ञप्ती नै जारी गरेर खबरदारी गरेको छ। राष्ट्रिय झन्डाको उच्च गरिमा र मर्यादा ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न पनि आग्रह गरेको छ।
     
    चुनावी गतिविधि बढेसँगै झण्डाको दुरुपयोग बढेकोले यसलाई रोक्न राष्ट्रिय सभामा पनि आवाज उठेको छ। सांसदहरुले चुनावी सभा, जुलुस तथा ¥यालीमा नेपाली राष्ट्रिय झन्डाको प्रयोग गर्नै रोक लगाउन सरकारसँग माग गरेका छन्। 
     
    नेकपाकी सांसद गंगाकुमारी बेलवासेले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग भइरहेको र चुनावी अभियानमा प्रयोग गरिएका झन्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ? भन्ने विषयमा खोजी गर्न सकिने अवस्था नरहेको भन्दै उहाँले नेपाली झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै यसको प्रयोग पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिनुभयो। 
     
    यता,चौतर्फी विरोध भएपछी सरकारले पनि अब झन्डाको दुरुपयोग भए कानुनी कारबाही हुने भन्दै चुनावी कार्यक्रममा पनि बढीमा १० वटा झन्डा मात्रै प्रयोग गर्न पाउने र त्यसभन्दा बढी पाइए अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाउन देशभर जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पनि दिएको छ। 
     
    गृहमन्त्रालयले विज्ञप्ती नै जारी गरेर सर्कुलर गरेपछी जिल्ला तहमा पनि प्रहरीले निगरानी बढाउने भएको छ। झापाका प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले राष्ट्रिय झण्डाको दुरुपयोग गर्नेलाई कानुनी कारबाही हुने चेतावनी दिनुभयो। 
     
    यस्तै झण्डाको व्यापक दुरुपयोग भएपछी सुरुमै आवाज उठाउनुभएका संविधानविद डा. भिमार्जुन आचार्यले पनि यसमा विषेश निगरानी राख्न आवश्यक रहेको बताउनुहुन्छ। कतिपयले अन्जानमा झण्डाको दुरुपयोग गरेको भएपनि कतिपयले जानाजान रुपमै जेनजी आन्दोलनजस्ता गतिविधी र आगजनी, तोडफोडजस्ता घटनामा पनि राष्ट्रिय झन्डा ओढेरै दुष्कर्म गरेकोले यसमा राज्यले ख्याल पुराउन जरुरी रहेको बताउनुभयो। 
     
    नेपालको राष्ट्रिय झण्डा महत्व र गरिमा बुझ्न जरुरी रहेको भन्दै उहाँले यसको प्रयोगबारे र दुरुपयोग गर्नेलाई कारबाहीबारे पनि नेपालको संवीधानमै स्पष्ट व्याख्या गरिएकोले यसको कडाईका साथ कार्यान्वायन गर्नुपर्ने आयार्यले बताउनुभयो। 
     
    राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनैपनि कार्य गर्न वा गराउन, राष्ट्रिय झण्डा उल्टो राख्न, च्यात्न, जलाउन, फ्याँक्न, पोको पार्न, व्यापारिक प्रयोजनमा विज्ञापनको उद्देश्यले दुरुपयोग गर्न, शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र लगाउन शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनैपनि भित्री–बाहिरी कपडामा झण्डाको प्रतीक–चित्र राख्न, फहराउने प्रकृतिको कार्यबाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न निषेध गरिएको छ।
     
    यस्तो कार्य गर्नु गराउनु भनेको राष्ट्रिय झण्डा महत्व र गरिमामाथी नै आँच पुराउनु ठहर्छ। त्यस्तो कार्य गर्नेलाई संविधानमै प्रष्ट रुपमा कारबाही तथा दण्ड जरिवानाको व्यवस्था गरिएको छ। तसर्थ नेपालको राष्ट्रिय झण्डाको सम्मान गर्नु, गरिमा र महत्व जोगाईराख्नु सबै नेपालीको दायीत्व हो। यसमा राज्यले पनि झण्डाको दुरुपयोग गर्नेलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउन जरुरी छ। 

     


    बुधवार, माघ १४ २०८२०८:१४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij