काठमाडौं। आज माघ १६, सहिद दिवस। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरणमा विभिन्न कार्यक्रमको आयोजना गरी देशैभर यो दिवस मनाइएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाउँदै स्वतन्त्रताको माग गर्दा तत्कालीन सरकारले १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो। यसकै सम्झना तथा प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येकवर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ।
सहिदहरुकै सम्मानमा हरेक वर्ष माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाउने गरिन्छ भने विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएकोमा अहिले पनि निरन्तर मनाईदै आएको छ।
सप्ताह व्यापी कार्यक्रमले शहीदहरूको बलिदानलाई स्मरण गर्दै राष्ट्रिय एकता र लोकतन्त्रको रक्षा गर्ने संकल्प दोहो¥याएको छ भने काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा मुख्य समारोहको आयोजना गरी शहीदहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।
काठमाडौं महानगरपालिकाद्धारा आयोजीत उक्त समारोहमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगाएत अन्य उच्च पदाधिकारीको उपस्थिति रहेको थियो। सोही अवसरमा महानगरका कार्यबाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
शहीदहरूको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको भन्दै उहाँले विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास सहीदको बलिदानकै कारण सम्भव भएको बताउनुभयो।
यस्तै उता, विभिन्न जानकार तथा इतिहासविद्हरुले भने अझै कतिपय सहिदहरु सरकारबाटै अवमुल्यनमा परेकोले उनिहरुको पनि सम्मान हुनुपर्नेमा जोड दिन्छन्।
इतिहासविद् प्रा.डा. श्रीरामप्रसाद उपाध्यायले अहिले सहिदहरु घोषणा गर्ने होडबाजी नै चल्दा पनि इतिहासमा कालापानी नालापानीजस्ता ठुला युद्धहरुमा बलिदानी दिएका दयाराम खड्काजस्ता महान् योद्धाहरु अझैपनि सरकारको अवमूल्यनमा परेकोले राष्ट्रिय विभूति घोषणा गरेर उनिहरुको योगदान र बलिदानीको सम्मान गर्नुपर्ने जोड छ।
अँग्रेजहरुसँग अन्तिम अवस्थासम्म पनि खाना र पानीसमेत नपाईकन भोकभोकै लडेका वीर योद्धाहरुको योगदानको अवमूल्यन गर्न नहुने इतिहासविद् उपाध्यायको तर्क छ।
यस्तै, अर्का इतिहासविद् गोविन्दमान सिंह कार्कीले पनि अहिले नेपालको सत्ताको वागडोर सम्हाल्नेहरुले सहिदहरुको त्याग र बलिदानी बिर्सिएको टिप्पणी गर्नुहुन्छ। सहिदहरुले राणा शासन फालेर ल्याएको परिवर्तन अहिले सिमित दल र तीनका नेतृत्वकर्ताले आँफुलाई केन्द्रमा राखेर नयाँ शासन जमाएर अगाडी बढ्दा अहिले जेनजी आन्दोलनसम्म आईपुग्दा धेरै सहिद हुनु परेको कार्कीको धारणा छ।
अझैपनि दल तथा तीनका नेतृत्वकर्ताको शैली नसुध्रीएको खण्डमा यस्ता विद्रोह र आन्दोलन आगामी दिनहरुमा निरन्तर कायम रहने र अझै हजारौं सहिद हुने चिन्ता र डर कायम रहेको इतिहासविद् कार्की बताउनुहुन्छ। प्रजातन्त्र स्थापनापछी अहिलेसम्म आइपुग्दा चारवटा संविधान जारी भैसक्दा पनि देश र जनताले अझै राहत महसुस गर्न नसकेको भन्दै उहाँले संघियता, धर्म निरपेक्षता, गणतन्त्र सबै भैसक्दा पनि फेरी देश संविधान बाहिर जाँदा जेनजी आन्दोलनजस्तो विद्रोहको अवस्था आएको बताउनु्भयो।
आगामी निर्वाचनले पनि देशलाई सहि दिशा निर्देश गर्ने अवस्था नरहेको भन्दै उहाँले जतिसक्दो छिटो संविधान संशोधन गरी कमी कमजोरी सच्याएर अगाडी बढ्न नसके फेरी नयाँ सहिद थपिने गरि अर्को आन्दोलन नहोला भन्ने अवस्था नरहेको उहाँको बुझाई छ।
पुरानो नेपाललाई नयाँ नेपालको मार्गदिशा प्रदान गर्ने चार सहिद धर्मभक्त माथेमा, शुव्रmराज शास्त्री, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठको योगदान स्मरण गर्ने दिनका रुपमा सहिद दिवसलाई लिइन्छ। सहिदहरुको योगदान, बलिदान र अपेक्षाअनुसार देश र व्यवस्थाको सञ्चालन गरी जनतालाई डेलीभरी दिन सक्नुपर्छ तर, अहिले त्यो परिस्थिति देखिँदैन।
जसकारण सहिदहरूको सम्झनासँगै उनीहरूको अपेक्षाको कार्यान्वयन र योगदानको पुस्तान्तरण सही तरिकाले हुन नसक्दा नयाँ पुस्ताले मन अमिलो बनाएका छन्। जसले पुराना पुस्ताले पुस्तान्तरणमा कञ्जुस्याइँ गर्दा नयाँ र पुराना पुस्ताबिच दुरी बढ्दै गएको छ। भने नेपालमा हरेक दशकमा ठुलाठुला आन्दोलन तथा विद्रोह हुने क्रम जारी रहँदा ठुलो सँख्यामा सहिदहरु थपिँदै गएका छन्।
तसर्थ अहिले नेपालको राजनीति र व्यवस्थाको केन्द्रमा रहेका तथा सत्ताको बागडोर सम्हाल्न पुग्नेहरुले स्वतन्त्रता र जनताको सुख नै सरकारको सर्वोपरि चाहना हो भन्ने ध्येयका साथ अघि बढेर अहिले देखिएको पुराना र नयाँ पुस्ताबिचको दुरी हटाउँदै सहिदको योगदान, बलिदान र सपना, साकार पार्ने दिशामा केन्द्रीत हुन जरुरी छ।