काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन अव ११ दिन मात्र बाँकी छ । जेनजी आन्दोलन पछि हुन लागेको चुनाव हुनेमा सरकार र निर्वाचन आयोग ढुक्क छ ।
तर, केही राजनीतिक दल र उम्मेदवारका अभिव्यक्तिले आम मतदातामा भने शंका उब्जाइरहेको छ । व्यक्ति लक्षित अभिव्यक्ति र पार्टीका झण्डा जलाउनेसम्मका गतिविधिले चुनाव शान्तिपूर्ण हुनेमा शंका व्यक्त गरिएका छन् ।
चुनावमा लागि ३१ अर्ब बजेट बिनियोजन भएको छ र निर्वाचन आयोगले खर्च पनि गरिरहेको छ । चार वटै सुरक्षा निकाय परिचालन भइसकेका छन् । उम्मेदवारको मनोनयनसम्म पनि चुनाव हुनेमा शंका व्यक्त गर्दै आउनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि चुनाव स्थगित हुने हल्ला सुनाइरहनु भएको छ ।
तर, आयोग र सरकार कुनै पनि हाल्लाका आधारमा चुनाव रोकिने अबस्था नरहेको दाबी गरिरहेका छन् । निर्वाचन सर्छ र हुदैन भन्ने केहि हल्ला आयोगले नसुनेको भने होइन । निर्वाचन स्थगित हुन्छ भन्ने उम्मेदवारकै फोनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको कन्पारो नै तातेको छ । फोन गर्ने शीर्ष उम्मेदवारको नाम नलिइ उहाँले चुनाव जसरी पनि हुन्छ भन्ने जवाफ दिएको बताउनु भयो ।
मतदानको मिति नजिकिदै जादाँ बजार हल्लाहरु सरकारी अधिकारी र निर्वाचन आयोगका लागि टाउँको दुखाईको विषय बनेका छन् । सामाजिक संजालमा आउने भ्रामक हल्लाहरु निराधार भएको सन्देश दिन समेत आयोग र सरकारी अधिकारीहरुलाई सकस परेको छ । भ्रामक अभिव्यक्ति, चुनाव विथोल्ने गतिविधि नियन्त्रण गर्न सरकारी अधिकारी र आयोगलाई हम्मेहम्मे नै परेको छ ।
चुनावमा भाग लिएका राजनीतिक दल र उम्मेदवारका उग्र गतिविधिले चुनावी माहोल विग्रने संकेत पनि दिएका छन् । नेपाली कांग्रेसले चुनाव भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुपर्ने पहिलो दायित्व सरकारको भएको बताएको छ । व्यक्ति केन्द्रीत अभियव्यक्ति र दलका झण्डा जलाउने काम तत्काल बन्द गर्नुपर्ने माग कांग्रेस प्रवक्ता देवराज चालिसेले गर्नु भएको छ ।
अर्को दल नेकपा एमालेले पनि चुनाव हुन नदिने गतिविधिको दोष प्रतिष्पर्धी दलमाथि लगार्एको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई उम्लिएको र जोडजाम गरेको पार्टीको संज्ञा दिनु भएको छ । उहाँले पार्टीका झण्डा जलाउने र निुहँ खोज्ने काममा लागेको आरोप लगाउनु भएको छ ।
निर्वाचन आयोगले भने सबै सरोकारवालालाई ढुक्क भएर तयारीमा जुट्न आग्रह गरेको छ । आयोगले आचारसंहिताको पूर्ण पालना गर्न दल तथा उम्मेदवारलाई निर्देशन दिँदै स्वच्छ, मितव्ययी र मर्यादित प्रचार–प्रसार गर्न भनेको छ ।
कुनै पनि भ्रम, हल्ला वा अफवाहको पछि नलाग्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आग्रह गर्नु भएको छ । केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने उहाले बताउनु भयो । निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहो¥याउँदै उहाँले निर्वाचनको वातावरण विथोलिने अवस्था अब नबन्ने जिकिर गर्नुभयो ।
निर्वाचनका गतिविधि शान्तिपूर्ण रुपमा अगाडि बढिरहेका आयोगको दाबीमा विश्वास गरिहाल्ने अबस्था भने बनेको देखिदैन । दाङमा एमालेका झण्डा जलाएको घटना सेलाउन नपाउँदै सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच घम्साघम्सी भएको छ । रौतहटमा अनिश्तिकालिन कफ्र्यु आदेश जारी भएको छ ।
सामाजिक सद्भाव कायम राख्न जिल्लादेखि केन्द्रीय सुरक्षा समिति नै चनाखो बन्नु पर्ने अबस्था आएको छ । रौतहटमा सल्केको आगो निभाउन सर्वपक्षिय छलफल गरी भोलि सामाजिक सद्भाव र्याली निकाल्ने तयारी भएको छ । स्थिति सामान्य अबस्थामा ल्याउन सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनु भयो ।
निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका र विभिन्न अफवाहबीच पनि निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन हुने स्पष्ट पारिसकेको छ र सबै तयारी अन्तिम चरणमा पुगेकाले ढुक्क भएर मतदानमा सहभागी हुन नागरिकलाई आग्रह गरिसकेको छ ।
अव, निर्वाचनमा मतदाताले ढुक्क भएर मत हाल्ने वातावरण बनाउन सरकारले सुरक्षा व्यवस्था सुदृढ गर्नुका साथै निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त मतदान सुनिश्चित गर्न आवश्यक देखिन्छ । साथै, अफवाह नियन्त्रण, निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन र मतदान केन्द्रमा आवश्यक सबै पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनु सरकार र आयोगको प्रमुख दायित्व हो ।