Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ग्यास अभावको हल्लाले उपभोक्तामा मनोवैज्ञानिक त्रास, सहज आपूर्ति भइरहेको निगमको दाबी (खास खबर)

ग्यास अभावको हल्लाले उपभोक्तामा मनोवैज्ञानिक त्रास, सहज आपूर्ति भइरहेको निगमको दाबी (खास खबर)

  • मंगलवार, फाल्गुण २६ २०८२

  • 397
    SHARES

  • ग्यास अभावको हल्लाले उपभोक्तामा मनोवैज्ञानिक त्रास, सहज आपूर्ति भइरहेको निगमको दाबी (खास खबर)

    काठमाडौं । काठमाडौं उपत्यकामा एकाएका ग्यास अभाव भएको छ । उपभोक्तामा ग्यास अभाव हुने मनोवैज्ञानिक त्रास उत्पन्न हुँदा माग बढेको छ । उपत्यकाका ३५ देखि ४० लाख नागरिकको बसोबास छ । नियमित जस्तै ४५ देखि ४६ लाख मेट्रिकटन खपत हुने ग्यासको अभाव नभएको दाबी आयल निगमले गरेको छ । हुनेखानेले आबश्यकता भन्दा बढी होल्ड गर्दा ग्यासको अभाव देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनु भयो ।

    आयल निगमले ग्यास उद्योगीसँग ग्यास अभाव हुन नदिन छलफल गरेको छ । बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन जारी गरेको छ ।

    निगम प्रवक्ता मनोज ठाकुरका अनुसार निगम र ग्यास उद्योगीहरूबीच भएको छलफलमा उद्योगीले आपूर्तिमा कुनै समस्या नभए पनि वितरण प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।

    निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमता अनुसार ग्यास निरन्तर आयात गरी बजार पठाउन र उद्योगले दैनिक रूपमा कुन विक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको छ । त्यसैगरी ग्यास विक्रेताहरूले पनि कसलाई ग्यास बिक्री गरे भन्ने कुराको फोन नम्बर सहित अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

    ग्यास वितरण क्रममा घरायसी प्रयोजनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने निगमको मुख्य निर्देशन छ । निगमका प्रवक्ता ठाकुरले आपूर्तिमा कुनै समस्या नभएकाले आबश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध पनि गर्नु भएको छ ।

    ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिका कारण भविष्यमा ग्यास नपाइने हो कि भन्ने चिन्ता उपभोक्तामा पर्नु स्वाभाविक भएको महासंघले उल्लेख गरेको छ । तर, यस्तो विषम परिस्थितिको फाइदा उठाएर सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध भएको महासंघको ठहर छ ।

    महासंघले देशभरिका आमविक्रेतालाई कुनै पनि गैरकानुनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न विज्ञप्ति मार्फत अपिल गरेको छ । साथै, संकटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ । यस्ता गैरकानुनी काम गर्ने जोकोहीलाई कारबाही हुने कुरा सबै जिल्ला संघमार्फत देशभरिका विक्रेतालाई जानकारी गराउन समेत महासंघले निर्देशन दिएको छ ।

    ग्यास उद्योगीले पनि आयाल निगमकै भाषा बोलेका छन् ग्यासको अभाव भयो भन्ने हल्ला मात्रै हो भनेका छन् । ग्यास उद्योगी शिब घिमिरेले बजारमा ग्यासको अभाव नभएको दाबी सुनाउनुभयो ।

    मध्यपूर्वको तनावले छिमेकी देश भारतमा ग्यासको लाइन लागेको समाचारले नेपाली उपभोक्तामा ग्यास नपाइने भय सिर्जना भएको निगम र उद्योगीहरुको दाबी छ । भारतमा ग्यासको मुल्य बढेकाले नेपालमा त्यसको प्रभाव पर्ने हल्लामा विश्वास नगर्न ग्यास उद्योगी शिव प्रसाद घिमिरेले अनुरोध गर्नु भयो ।

    काठमाडौं उपत्यकामा ग्यास अभाव देखिए पनि कोशी प्रदेशमा त्यस्तो नदेखिएका कोशी प्रदेशका ग्यास उद्योगी जेबी कार्कीले बताउनु भयो ।
    भरखरै चुनाव सम्पन्न भएको छ । चुनावमा सिमा नाका सिल भए । भन्सार कार्यालयहरु बन्द भए । त्यसको असर केही दिन देखिए पनि अहिले त्यस्तो अबस्था नभएको आयल निगम र उद्योगीहरुले बताएका छन् ।

    उपभोक्ता इमान्दार भएमा ग्यास अभाव १ २ दिनमै अन्त्य हुने दाबी पनि उनीहरुको छ । त्यसैले उपभोक्ताले पनि आबश्यकता भन्दा बढी ग्यास भण्डारण गर्नु हुँदैन । आबश्यकता हुनेले नपाउने र कोहीले भण्डारण मात्रै गर्दा त्यसले भोलि अर्को क्षति निम्त्याउनेतर्फ आम उपभोक्ता पनि सचेत हुनु जरुरी छ ।

     


    मंगलवार, फाल्गुण २६ २०८२०८:०४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij