Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रास्वपा सरकार गठनको गृहकार्यमा, सांसद बाहिरबाट मन्त्री नबनाउने, बाचापत्र भोट तान्ने हतियार मात्रै बन्ने संकेत (खास खबर)

रास्वपा सरकार गठनको गृहकार्यमा, सांसद बाहिरबाट मन्त्री नबनाउने, बाचापत्र भोट तान्ने हतियार मात्रै बन्ने संकेत (खास खबर)

  • बुधवार, फाल्गुण २७ २०८२

  • 405
    SHARES

  • रास्वपा सरकार गठनको गृहकार्यमा, सांसद बाहिरबाट मन्त्री नबनाउने, बाचापत्र भोट तान्ने हतियार मात्रै बन्ने संकेत (खास खबर)

    काठमाडौं । निर्वाचन परिणाम आफ्नो पोल्टामा पारेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकार गठनका गृहकार्यमा जुटेको छ । चुनावमा बालेन शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेको रास्वपाले सबै भन्दा पहिले संसदीय दलको नेता चयन गर्ने भएको छ ।

    बालेनलाई दलको नेता बनाएर सरकारमा सहभागी हुने अरु मन्त्रीहरुको नाम छनोट गर्ने तयारी रास्वपाले गरेको छ । सरकार गठन र समानुपातिबाट सांसद बन्नेहरुको नाम छनोट गर्न रास्वपाले छलफल जारी रहेको जनाएको छ ।

    फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावी परिणामले झण्डै दुई तिहाई बहुमत ल्याउन लागेको रास्वपामा समानुपातिक सांसद बन्ने र मन्त्री नियुक्ति हुने दौड सुरु भएको छ । समानुपातिक सांसदसँगै मन्त्री बन्ने आकांक्षीहरुले सभापति रवि लामिछाने र बरिष्ट नेता बालेनको लोलोपोतो गर्न थालेका छन् ।

    तर, रवि र बालेन केही बोल्नु भएको छैन । प्रत्यक्षमा निर्वाचित सांसदहरु भने रवि र बालेनका पक्षमा खुलेर बोल्न थालेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित बालेन गुटका रास्वपा सांसद राजुनाथ पाण्डेले प्रधानमन्त्रीमा दायाँबायाँ गरेर देखाइदिने धम्की नै दिनु भएको छ । उहाँले रास्वपाका पदाधिकारीलाई गैरजिम्मेवार कुरा गर्ने छुट नभएको बताउनु भयो ।

    रास्वापामा प्रधानमन्त्री र मन्त्री को बन्ने भन्ने रस्साकस्सी सुरु भएको पाण्डेको अभिव्यक्तिले नै प्रष्ट रुपमा देखाएको छ । तर, रास्वपाले प्रधानमन्त्रीमा बालेन शाहलाई अगाडि सार्ने कुरामा नेताहरुबीच घम्साघम्सी चलेपनि पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै विवाद नरहेको दाबी गर्नुभयो ।

    बेथिती, विसंगती, कुशासन अन्त्य गर्ने नारा दिएर जनमत पाएको रास्वपा यतिबेला फुरुङ भएर हौसिएको छ । लगाम बिनाको घोडा जस्तै रास्वपका नेताहरु भने आफू अनुकुल अभिव्यक्ति दिइरहेका छन् । रास्वपाका नेताहरु अब जनमत भुलेर आफूआफैंमा भिड्ने संकेत दिइरहेका छन् । तर, रास्वपालाई आफूआफैंमा भिडेर जनमतको अवमुल्यन गर्ने छुट छैन । हिजो पुराना दलहरुको कमजोरीलाई हाताहाती गरेको रास्वपाले अब जनतासमक्ष गरेको बाचा पुरा गर्नुपर्नेछ । अब अरुलाई दोष दिएर उम्कने छुट नभएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले बताउनु भयो ।

    रास्वपाले सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरुबारे बहसपत्र तयार गर्ने रास्वपाले बाचापत्रमा उल्लेख गरेको छ । रास्वपाका तर्फबाट प्रारम्भिक छलफलका लागि पेश हुने विषयमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपाति संसद्, सांसद मन्त्री नुहने व्यवस्था, गैरदलिय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरुव हुने भनेको छ । जुन बुँदा मतदाताले कण्ठै गरेर बसेका छन् ।

    तर, रास्वपाले चुनावमा गरेको बाचापत्रको १० नम्बर बुँदा तत्काल कार्यान्वयन गर्न नसकिने जवाफ दिएको छ । जनता समक्ष गरेको बाचापत्र कार्यान्वयन गर्नबाट रास्वपा स्वंय पञ्छिने जुक्तिमा लागेको देखिएको छ । बाचापत्रको बुँदा कार्यान्वयन गर्न संवैधानिक अड्चन भनेको छ । सरकार गठन हुनु अघि नै रास्वपाले संसद बाहिरबाट मन्त्री बनाउने कुरा भविष्यको हो भनेको छ । रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले सांसद बाहिरबाट मन्त्री बनाउने कुरा तत्काल कार्यान्वयन नहुने जवाफ दिनु भएको छ ।

    सरकार गठनको तयारीमा रहेको रास्वपामा मात्रै होइन, नानीदेखि लागेको बानी भने जस्तै चुनावी परिणामले थला परेका कांग्रेस र एमाले पनि घरझगडामा लागेका छन् । कांग्रेसमा गगन थापालाई र एमालेमा केपी ओलीको उछित्तो काट्न सुरु भइसकेको छ । कांग्रेस नेता कृष्ण सिटौलाले विशेष महाधिवेशन उचित नभएको प्रतिक्रिया दिनु भएको छ ।

    चुनाव अगाडि दिएका ओलीका अभिव्यक्तिलाई दिएर खिसिट्युरी गर्न एमालेका नेता कार्यकर्ता नै लागेका छन् । देशभरीमा सर्वाधिक मत ल्याएर विजयी हुने अभिव्यक्ति दिनु भएका ओलीको सिंगौरी खेल्ने सिंग भाँचिएको छ । ओलीले चुनावमा जाँदा सबैभन्दा बढी मत ल्याएर विजयी हुने आफू नै रहेको बताउनु भएको थियो ।

    एमालेकै अर्का उम्मेदवार सुर्य थापाले ३ हजार ४०६ उम्मेदवार भन्दा बढी माला पहिरिने आफू नै भएको र जितबाट कसैले रोक्न नसक्ने बताउनु भएको थियो । तर, उहाँ पराजित हुनु भएको छ ।

    चुनावमा हारजित हुनु स्वभाविक प्रक्रिया हो । कसका कारणले भन्दा पनि जनतालाई आश्वासनका भारी बोकाएका उम्मेदवार पराजित भएको अबस्था छ । देशले परिवर्तन मात्रै खोजेको छैन, नेताहरुलाई सच्चिने अबसर पनि दिएको छ । त्यसैले नयाँ हुन या पुराना दलहरु आफूआफैंमा झगडा गरेर बस्नु र एक अर्कालाई दोषारोपण गर्नुको सट्टा जनताको आकंक्षा पुरा गर्न लाग्नु अहिलेको आबश्यकता हो ।

     


    बुधवार, फाल्गुण २७ २०८२०८:१२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij