Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

इनिशा बिकको बलात्कारपछि हत्या भएको पुष्टि, अपराधीलाई फाँसीको सजाय दिन चौतर्फी माग (खास खबर)

इनिशा बिकको बलात्कारपछि हत्या भएको पुष्टि, अपराधीलाई फाँसीको सजाय दिन चौतर्फी माग (खास खबर)

  • बिहिवार, फाल्गुण २८ २०८२

  • 463
    SHARES

  • इनिशा बिकको बलात्कारपछि हत्या भएको पुष्टि, अपराधीलाई फाँसीको सजाय दिन चौतर्फी माग (खास खबर)

    काठमाडौं । सुर्खेतकी एक बालिकाको बलात्कारपछि हत्या भएको घटनाले सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । अपराधीलाई कडा कारबाही नहुनु, राजनीतिक संरक्षण हुनु लगायतका कारण बलात्कारपछि हत्यामा संलग्न अपराधीहरु उम्किरहेको तथ्य समेत बाहिरिएका छन् ।

    कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी एक दशकसम्म पक्राउ नपर्नुले अपराधीहरुको मनोबल उच्च भएको टिप्पणी सार्वजनिक भएका छन् । फागुन २३ गते इनिशा बिक शनिबार बिहान प्रयोगात्मक छ भनेर घरबाट निस्किएकी थिइन ।

    बिहान ८ बजेसम्म घर आउने भनेर गएकी इनिशा ९ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । खोजी गर्दा इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन । सुर्खेत गुर्भाकोट बडाखाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन । उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

    पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
    जबरजस्ती करणीले मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको पोस्टमार्टममा संलग्न भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा.अर्विन शाक्यले जानकारी दिनुभयो ।

    थप परीक्षणका लागि स्वाब, भिसेरा संकलन गरेर केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । सुर्खेतको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाका घरपरिवार र आफन्तले अपराधीलाई कारबाही हुने विश्वस्त वातावरण नभएसम्म शव नबुझ्ने अडान राखेका छन् ।

    प्रहरीले घटनामा संलग्न रहेका प्रेमी भनिएका १६ बर्षीय एक किशोरसहित चारजनालाई पक्राउ गरी जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु भएको बताएको छ । अनुशन्धान जारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    घटनामा अरु जोडिएको पाइए उनीहरुमाथि पनि अनुशन्धान हुने कर्णाली प्रदेशका प्रहरी प्रवक्ता राम प्रकाश शाहले बताउनु भएको छ । अनुशन्धानको सुरुवाती चरणमा रहेको उहाँले बताउनु भयो ।

    मृतकका आफन्तले दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राखेका छन् । घटनाको अनुशन्धानका लागि केन्द्रीय अनुशन्धान ब्युरोको टोली सुर्खेत पुगेको छ । ब्युरोले भोलिदेखि काम सुरु गर्ने प्रहरी प्रवक्ता शाहले बताउनु भयो ।

    देशका विभिन्न स्थानमा इनिशाको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शन भएको छ । बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने बहस सुरु भएको छ । संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई फाँसी दिनुपर्ने माग विगतमा जस्तै यो पटक पनि उठेको छ । इनिशाको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा भएको प्रदर्शनमा बलात्कारीलाई फाँसीको सजाय हुनु पर्ने माग गरिएको छ ।

    इनिशाको शब परिवारले बुझेको छैन । बैदेशिक रोजगारीमा रहेका इनिशाका बुबा हिजो मात्रै सुर्खेत पुग्नु भएको छ । आज पोष्टमार्टम रिपोर्ट आएको छ । घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले परिवारसँग भेट्नु भएको थियो । मुख्यमन्त्री कँडेलमाथि शब उठाउन परिवारलाई दवाव दिएको गम्भीर आरोप समेत लागेको छ ।

    जुन आरोपको मुख्यमन्त्री कडेलले खण्डन गर्नु भएको छ । भ्रमपूर्ण आरोपमा सत्यता नभएको उहाँले बताउनु भएको छ । आफूमाथि आरोप लगाइरहँदा परिस्थितिलाई सामान्य नबनाउने भन्दै मुख्यमन्त्री कडेलले पीडित न्यायबाट बञ्चित हुने अबस्था नआउने प्रष्ट पार्नुभयो ।

    इनिशा हत्या प्रकरणको छानविन र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै देशका विभिन्न ठाउँमा प्रर्दशन भएको छ । उनीहरुले बलात्कारका घटनाको निष्पक्ष छानविनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत राखेका छन् । छानविनमा हेलचेक्र्याई नगर्न खबरदारी गरेका छन् ।

    मुख्यमन्त्री यमलाल कँडेलले इनिशा हत्या घटनाको न्यायोचित छानविन हुने बताउनु भएको छ । यसका लागि बातावरण बनाउन मुख्यमन्त्री कडेलले अनुरोध गर्नुभयो ।

    माइतीघरमा भएको प्रदर्शनका अभियान्ताहरुले भने यस्ता घटना पितृसत्ताका कारण अन्त्य हुन नसकेको समेत बताएका छन् ।
    इनिशाको शव ५ दिनदेखि कर्णाली प्रदेश अस्पतालमा छ । इनिशाको परिवारले न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन् । इनिशाको आफन्तहरूले केही आरोपीहरू समातिए पनि केहीलाई समात्न छुटेको बताएका छन् ।

    छुटेका आरोपीहरूलाई अनुसन्धानको लागि प्रहरीले ल्याउनुपर्ने परिवारको माग रहेको छ । जति डोरी लामो बाटे पनि गाठो एउटै भने जस्तो अपराधी उम्कनु भएन । कडा भन्दा कडा कारबाही हुनुपर्छ, जुन कारबाहीले भोलीका दिनमा इनिशा जस्ता अरु छोरीहरुले अकालमा अपराधीको हातबाट मृत्यु हुनुनपरोस् ।

    अभिभावक पनि आफ्ना सन्तानको सुरक्षाका लागि सचेत हुनु जरुरी देखिएको छ । बालबालिकाले पनि अभिभावकले भनेको नमान्ने र मोबाइलले भनेको मात्रै मान्ने अड्डी छोड्नु पर्छ ।


    बिहिवार, फाल्गुण २८ २०८२०८:०६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij