काठमाडौं । चुनावमा झण्डै दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संघीय संसदमा प्रस्तुत हुनु अगाडि आफ्ना निर्वाचित सांसदहरुलाई अभिमुखिकरणसहित रिहर्सल गराएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद निर्वाचित भएका छन् ।
संसद प्रवेश अघि गरिएको अभ्यास भोट मागेकै शैलीमा घण्टी बजाएर सञ्चालन गरिएको छ । जहाँ सभापति रवि लामिछाने र बरिष्ट नेता बालेन शाहको उपस्थिति भने छैन । रास्वपाका अधिकांश सांसद नयाँ अनुहार हुन् । संसदीय अभ्यासमा अनुभव कम भए पनि उनीहरुमा देखिएको जोश र सक्रियता उल्लेखनीय छ ।
तर, यही जोशमा होस गुमाउनु नहुने सुझाव समेत दिइएको छ । कतिपय सांसद अहिले नै निर्देशनात्मक भूमिकामा देखिन थालेका छन् । धादिङबाट निर्वाचित आशिका तामाङ भोट माग्दादेखि नै चर्चामा रहनु भएको थियो भने निर्वाचित भएपछि पनि विभिन्न अभिव्यक्तिका कारण भाइरल बनिरहनु भएको छ । सडक कर नउठाउन दिएको निर्देशनबारे उहाँले आफू पहिले देखि नै एक्सनमा रहेको बताउनु भएको छ ।
संसद कानुन निर्माणको थलो मात्र नभई जनताको आवाज बोल्ने प्रमुख मञ्च पनि हो । त्यसैले सांसदहरुको भूमिका जिम्मेवार, संयमित र मर्यादित हुनुपर्नेमा जोड दिइएको छ । अधिकांश नयाँ भएकाले संसदीय अभ्यास, प्रक्रिया र मर्यादाबारे अध्ययन आवश्यक रहेको संघीय संसदका पूर्वसचिव मुकुन्द शर्माको भनाइ छ ।
अघिल्लो संसदमा कमजोर प्रतिपक्षको भूमिकामा रहेको रास्वपा यसपटक बहुमतसहित सत्ताको नेतृत्वमा उभिएको छ । युवा जोश र नयाँ ऊर्जा बोकेर आएका आफ्ना सांसदहरुलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको उपस्थिति विनै अभिमुखिकरण दिइएको हो ।
रास्वपाले सांसदहरुलाई व्यक्तिगत समस्या समाधानका लागि नभई प्रणाली परिवर्तनका लागि आएको सन्देश दिएको छ । उपसभापति स्वर्णिम वाग्लेले पनि यही विषयमा सांसदहरुलाई स्मरण गराउनु भएको छ ।
रास्वपाले परिपक्व राजनीति गर्ने दाबी गर्दै त्यसैअनुसारको संस्कार विकास गर्न प्रशिक्षण दिएको जनाएको छ । तर, यही प्रशिक्षणका क्रममा उपसभापति डिपी अर्यालले दिएको अभिव्यक्ति भने विवादित बनेको छ । उहाँले आगामी दिनमा प्रतिपक्षी नै नरहने गरी रास्वपालाई मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्ने धारणा राख्नु भएको छ ।
अर्यालको अभिव्यक्तिले संसदीय प्रणालीको मूल मर्ममाथि प्रश्न उठाएको भन्दै आलोचना भएको छ । प्रतिपक्षी विहीन संसदको कल्पनाले पूर्वराष्ट्रपति डाक्टर रामबरण यादवलाई समेत झस्काएको छ । संविधानले परिकल्पना गरेको संसदीय व्यवस्था प्रतिपक्षी बिना सञ्चालन हुन नसक्ने उहाँको भनाइ छ ।
उपसभापति अर्यालकै अभिव्यक्तिका कारण रास्वपाको अभिमुखिकरण कार्यक्रम विवादमा परेको छ । यसले रास्वपा संसदीय अभ्यासमा अझै परिपक्व नभएको टिप्पणीसमेत हुन थालेका छन् । संसदीय मामिलाका जानकारहरुका अनुसार संसदमा प्रतिपक्षी अनिवार्य तत्व हो, जसलाई बेवास्ता गर्न मिल्दैन । आवश्यक परे खोजेरै भए पनि प्रतिपक्षीको उपस्थिति सुनिश्चित गर्नुपर्ने पूर्वसचिव मुकुन्द शर्माको धारणा छ ।
रास्वपाले आफ्ना सांसदहरुलाई दिएको अभिमुखिकरण कार्यक्रम नयाँ सांसदका लागि सकारात्मक कदम मानिएको छ । तर, प्रशिक्षणकै क्रममा आएको विवादित अभिव्यक्तिले भने संसदीय मर्यादा, प्रतिपक्षको भूमिका र राजनीतिक परिपक्वतामाथि गम्भीर बहस सिर्जना गरिदिएको छ ।