काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा पश्चिमा शक्तिहरूको बढ्दो दबाब र हस्तक्षेपका कारण मुलुकको अस्तित्व नै संकटमा परेको गम्भीर आरोप लगाउनुभएको छ। आज बिहान नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार खेम बमसँग कुराकानी गर्दै उहाँले पछिल्लो समय राष्ट्रभक्ति बोकेका शक्तिहरूलाई पाखा लगाउने खेल भइरहेको बताउनुभयो। पश्चिमा राष्ट्रहरूको प्रभाव बढ्दै गएकै कारण जनमोर्चा लगायतका राष्ट्रवादी दलहरूले चुनावी मैदानमा हार बेहोर्नुपरेको उहाँको तर्क छ। अध्यक्ष केसीले फागुन २१ गते सम्पन्न निर्वाचन नेपाली जनताको स्वाभाविक प्रक्रिया नभई विदेशी शक्तिहरूको ठूलो षड्यन्त्रको उपज भएको दाबी गर्नुभयो ।
उहाँले विदेशी चलखेल यसरी नै जारी रहने र समयमै यसलाई नरोक्ने हो भने नेपाल छिट्टै ‘सिक्किमीकरण’ को बाटोमा जाने चेतावनी दिनुभयो। नेपालका अमूल्य प्राकृतिक स्रोत र साधनहरूलाई विदेशीको हातमा सुम्पिएर यहाँ अमेरिकी साम्राज्यवाद लाद्ने प्रपञ्च रचिएको भन्दै उहाँले नेपालभित्रै अमेरिकी साम्राज्यवादका एजेन्टहरू सक्रिय रहेको बताउनुभयो। विशेषगरी नेपालका पुराना र ठूला राजनीतिक दलहरूले अमेरिकी सैन्य रणनीति (एसपीपी) लाई पारित गराउने भित्री उद्देश्य राखेर नै षड्यन्त्रपूर्वक चुनाव गराएको उहाँको आरोप छ।
कुराकानीका क्रममा अध्यक्ष केसीले नेपाललाई चीन विरुद्धको अखडा बनाउने प्रयास भइरहेको समेत उल्लेख गर्नुभयो। उहाँका अनुसार नेपालमा दलाई लामाको प्रभावलाई स्थापित गर्ने र यहाँबाट चीन विरोधी गतिविधिहरू सञ्चालन गर्ने अमेरिकी स्वार्थ अनुसार नै अहिलेका कतिपय आन्दोलन र राजनीतिक समीकरणहरू बनेका हुन्।
छिमेकी मुलुक चीन विरुद्ध नेपाली भूमिको प्रयोग गर्ने यो योजना नेपालको हितमा नभएको उहाँले स्पष्ट पार्नुभयो। समग्रमा, नेपालको स्वाधिनता र राष्ट्रियतामाथि बाह्य शक्तिले प्रहार गरिरहेको भन्दै उहाँले यस्ता विदेशी षड्यन्त्र विरुद्ध नेपाली जनता सचेत हुनुपर्नेमा विशेष जोड दिनुभएको छ।