काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता जगन्नाथ खतिवडाले वर्तमान सरकारका केही काम सकारात्मक देखिए पनि कतिपय कदम प्रतिशोधपूर्ण रहेको बताउनु भएको छ । सरकारका सबै कामहरुको मूल्यांकन गर्न सय दिन पर्खिनुपर्ने पनि बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुरा गर्दै नेता खतिवडाले केपी ओली र रमेश लेखकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी पूर्वाग्रही रहेको र त्यो जेनजी विद्रोह दबाउने उद्देश्यले प्रेरित भएको आरोप समेत लगाउनुभयो । अदालतले समेत उक्त कदमलाई स्वीकार नगरेको भन्दै उहाँले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति शुद्धीकरण छानबिन गर्ने विषय राम्रो भए पनि यो राजनीतिक प्रतिशोध साध्ने हतियार बन्न नहुनेमा बताउनु भएको छ । भ्रष्टाचारी जो भए पनि कारबाही हुनुपर्ने तर छानबिनका नाममा निश्चित व्यक्ति वा राजनीतिक दलका नेतालाई मात्र निसाना बनाएर प्रोपोगान्डा गर्न नहुने उहाँको तर्क छ।
त्यसैगरी, सरकारले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्न खोजेको विषयमा खतिवडाले कडा विरोध जनाउनु भएको छ । यस्ता संगठनहरू खारेज गर्दा तल्लो वर्ग र श्रमजीवीहरूको आवाज दबिने भन्दै उहाँले संगठनमाथि प्रतिबन्ध लगाउनुको साटो तिनलाई नियमन र व्यवस्थित गर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक व्यवस्थामा कसैको पनि आवाज दबाउने प्रयास सही नहुने र त्यसको परिणाम भविष्यमा ठिक नआउने बताउनुभएको छ ।