काठमाडौं । नेपाली कांग्रेसका नेता डा. गोविन्द पोखरेलले पार्टीभित्रको आन्तरिक विवादलाई अदालतमा लैजानु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा पत्रकार खेम बमसँग बहस गर्दै नेता पोखरेलले राजनीतिक दलहरुले आफ्ना आन्तरिक समस्या र असन्तुष्टिहरूको समाधान आफ्नै विधानअनुसार संवाद र छलफलमार्फत नै खोज्नुपर्ने बताउनुभयो ।
आफूलाई देश चलाउने र नेतृत्व दाबी गर्ने राजनीतिक दलहरुले आफ्नै घरभित्रको विवाद मिलाउन नसकेर न्यायालय जानुले लोकतन्त्र र दलहरुमा अझै परिपक्वता नआएको प्रष्ट हुने उहाँको भनाइ छ। नेपाली कांग्रेसभित्र अहिले भइरहेका गतिविधिहरूलाई समानान्तर गतिविधिको रूपमा बुझ्न नहुने भन्दै उहाँले आगामी एक वर्षपछि हुने स्थानीय तहको चुनावमा पार्टीलाई कसरी एकजुट र मजबुत बनाएर लैजाने भन्ने विषयमा केन्द्रित रहेर बहस हुनुपर्ने बताउनु भएको छ ।
कांग्रेसभित्र विभिन्न विचार समूहहरू रहने, आफ्ना फरक विचार र धारणाहरू प्रस्तुत गर्ने तथा पार्टीको नेतृत्वले गरेका राम्रा वा नराम्रा कामहरूको खुलेर विश्लेषण गर्ने परम्परा निकै लामो समयदेखि चलिआएको बताउँदै पोखरेलले अदालतमा पुगेका विवादका मुद्दाहरू फिर्ता लिएर सबै पक्ष संवादको टेबुलमा आउनुको विकल्प नभएको बताउनुभयो । हाल पार्टीमा देखिएको यो गतिरोधलाई अन्त्य गर्दै समाधान निकाल्नका लागि नेताहरू शेखर कोइराला र शशांक कोइरालाले मध्यस्थताको सकारात्मक पहल गरिरहेको पनि उहाँले बताउनु भएको छ ।
यसैगरी, पार्टीको विशेष महाधिवेशनमा देखिएको नेता तथा कार्यकर्ताहरूको ठूलो सहभागिता र अहिलेको युवा पुस्ताको भावनालाई गम्भीरतापूर्वक बुझेर नेतृत्वले आफ्ना कदमहरू अगाडि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउनु भएको छ । विगतमा २०६४ सालको चुनावमा हार व्यहोरेपछि पनि कांग्रेसले संविधान निर्माण र नेतृत्वमा महत्वपूर्ण भूमिका खेलेको उदाहरण दिँदै उहाँले विचार र सिद्धान्तले मात्र पार्टी चल्ने बताउनुभयो । नेपाली कांग्रेसलाई विचारका आधारमा सुदृढ र बलियो बनाउन सबै पक्ष एउटै मञ्चमा बसेर संवादको ढोका खोल्नुपर्ने र सबैलाई मिलाएर आगामी महाधिवेशनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।