Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ऊर्जा संकट बारे बेलैमा सचेत हुन उर्जाविद् काफ्लेको सुझाव

ऊर्जा संकट बारे बेलैमा सचेत हुन उर्जाविद् काफ्लेको सुझाव

  • बुधवार, बैशाख २ २०८३

  • 342
    SHARES

  • ऊर्जा संकट बारे बेलैमा सचेत हुन उर्जाविद् काफ्लेको सुझाव

    काठमाडौं । ऊर्जाविद् तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले विश्व ऊर्जा संकटको प्रत्यक्ष असर नेपालमा देखिन थालेको भन्दै सरकारलाई बेलैमा सचेत हुन चेतावनी दिनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा कुरा गर्दै काफ्लेले हर्मुज स्ट्रेटमा देखिएको तनावका कारण पेट्रोलियम पदार्थको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको र यसले जनजीवन कष्टकर बनाएको बताउनुभयो।

    काफ्लेका अनुसार विश्वको करिब २५ प्रतिशत पेट्रोलियम आपूर्ति हुने मार्गमा अवरोध हुँदा भारत र चीनसँगै नेपाल पनि नराम्ररी प्रभावित भएको छ। “नेपाल पूर्णतः आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिले हाम्रो भान्छा, यातायात र निर्माण क्षेत्रलाई ठप्प पारेको छ,” उहाँले भन्नुभयो। उहाँले सरकारले पेट्रोलियम पदार्थमा लगाएको उच्च कर घटाएर भए पनि जनतालाई तत्काल राहत दिनुपर्ने सुझाव दिनुभयो ।

    नेपाल जलविद्युतमा धनी भनिए तापनि हिउँदमा उत्पादन क्षमता ३० प्रतिशतमा खुम्चिने र अझै पनि भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता रहेको उहाँले स्पष्ट पार्नुभयो। तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “हाम्रो ऊर्जा मागको ६५ प्रतिशत अझै पनि दाउरा जस्ता जैविक इन्धनबाटै धानिएको छ भने विद्युत्को हिस्सा जम्मा ७ प्रतिशत मात्र छ।” तत्कालै सबै क्षेत्रमा विद्युतीकरण गर्न पूर्वाधारको अभाव रहेको उहाँको विश्लेषण छ।

    वर्तमान ऊर्जा संकट, बाढी र आन्तरिक समस्याका कारण नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्न सक्ने प्रक्षेपण गर्दै उहाँले राज्यले राहतका प्याकेज नल्याए देशमा आर्थिक विद्रोह हुन सक्ने चेतावनी समेत दिनुभयो। यो संकट समाधानका लागि जलाशययुक्त आयोजनाहरूको निर्माण र कूटनीतिक पहल आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।


    बुधवार, बैशाख २ २०८३०९:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij