राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।
रास्वपाले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा,कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी,पूर्वाधार विकास समितिमा आशिष गजुरेल,महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थीको नाम टुंगो लगाएको छ ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन,संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ,उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारीको नाम छ ।
त्यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्की,अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकीलाई पठाउने निर्णय भएको छ । सार्वजनिक लेखा समिति सभापति भने प्रतिपक्षी दललाई कांग्रेसलाई दिने भएको छ ।
लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस उम्मेदवारलाई सघाउने भएको छ । सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।